पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागतार्थका लागि हरेक वर्ष आयोजना हुँदै आएको सडक महोत्सव आजदेखि सुरु भएको छ ।
‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको २३ औं पोखरा ‘सडक महोत्सव’ पुस १७ गतेसम्म चल्दै छ ।

महोत्सव सहिदचोकदेखी कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्र सम्म भइरहेको छ । महोत्सव अवधिमा सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
महाेत्सवकाे उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँडले पर्यटकीय नगरी पोखरा २४ घण्टा नै खुला हुनुपर्ने बताएका छन् । उनले आवश्यक शान्ति सुरक्षाको प्रत्याभूत गर्ने गरी अघि बढ्न सुरक्षा निकाय र प्रशासनलाई पनि निर्देशन दिए ।

नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको थियो । तर, विश्वव्यापी कोरोना महामारीले भ्रमण वर्ष प्रभावित बनेको थियो ।
गृहमन्त्री खाँडले भने-‘म प्रहरीका डिआईजी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन्छु । पोखरा २४ घण्टा नै खुला हुनुपर्छ । पर्यटकीय गतिविधि बढाउनुपर्छ । राति रेष्टुरेन्टमा छिरेर बन्द गराउँदै नहिँड्नुहोला । पर्यटक तर्साउने काम नगर्नुहोला ।’

उनले तत्काललाई पूरै पोखराको रात्री सुरक्षाका लागि प्रहरी तयार नभए ट्रायल गर्दै अघि बढ्न पनि सुझाए ।
फेस्टिभलको पहिलो दिन आज हल्लनचोकबाट सांस्कृतिक झाँकी सहितको र्याली कोमागाने पार्कमा पुगी कार्यक्रमको औपचारिक सुरुआत गरिएको हाे ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको छ ।
यस्तै, महोत्सव अवलोकनका लागि पुग्नेलाई रेवानले बिहिबार र शुक्रबार कोभिड विरुद्धको जोनसन एण्ड जोनसनको खोप समेत उपलब्ध गराएको छ ।