
पाेखरा । आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतकाे विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन पाेखरा, काठमाडौं, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् ।

‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ सञ्चालित २३ औं संस्करणको पोखरा सडक महोत्सवबाट अंग्रजी नयाँ वर्षकाे भव्य स्वागत गरिएकाे छ ।

नयाँ वर्षकाे स्वागतार्थमा रातकाे १२ वजे आतिशबाजी सहित र्यापर समिर घिसिङ ‘भिटेन’ र विपुल क्षेत्रीले सांगितिक प्रस्तुति दिएका थिए ।
रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) ले आयोजना गरेकाे महोत्सव पोखराको शहीदचोकदेखि खहरे-डिहिकोपाटनसम्मको करीब ३ किलोमिटर क्षेत्रमा रहेकाे रेवान अध्यक्ष लक्ष्मण बरालले बताए ।

यस्तै महोत्सवमा मैथिली संस्कृति,काठमाडौंको नेवारी संस्कृति,गुरुङ संस्कृति, थारु जातिको संस्कृति प्रदर्शन साथै विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी गरिएकाे छ ।