पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाकै अगाडि गण्डकी प्रदेशको वन वातावरण तथा जनसंख्या मन्त्रालय अन्तर्गत पर्ने वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुख रामकाजी श्रेष्ठमाथि हातपात भएको छ ।
पाेखरा न्यूराेडमा बुद्ध मार्ग टाेलकाे बाटाेकाे ढलानको विषयलाई लिएर भएकाे विवादमा श्रेष्ठमाथि बुद्ध मार्ग टाेल विकास समितीका कोषाध्यक्ष नारायण श्रेष्ठले हातपात गरेका हुन् । उपभोक्ता समितिमार्फत भइरहेको ढलानको काम निरीक्षण गर्न मन्त्री थापा बुद्धमार्ग पुगेका थिए । तर नारायण श्रेष्ठले हातपात गरेपछि मन्त्री थापा सो स्थानबाट निस्किए ।
रामकाजीले मन्त्री थापालाई ढलान गरेको लेभल नमिलेको भन्दै गुनासो गरिरहेका थिए । त्यहीँबिच टाेल विकास समितिका कोषाध्यक्ष मन्त्री र रामकाजीको बिचमा गएर उभिए ।

‘ढलानको लेभल मिलेन केही ठाउँमा बिग्रेको छ भनेर सुनाउँदै गर्दा उहाँ आएर ‘तँ , तँ’ गर्दै जान्ने हुन्ने भन्दै हान्नुभयो कानुन मन्त्रीकै अघि कानुनको वास्ता भएन,’ उनले भने ।
आफुमाथि हातपात भइसकेपछि मन्त्री थापा केही नभनि हिँडेकाे भन्दै रामकाजीले गुनासो पनि पोखेका छन् ।
उनले आफुमाथि हात हालेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेको बताए । प्रहरी कार्यालयबाट दुईजना प्रहरी आएर सामान्य रिपोर्ट लिएर गएको रामकाजीकाे भनाई छ ।
दुरव्यवहार गर्ने व्यक्तिलाई लिखित निवेदनपछि मात्र पक्राउ गर्न मिल्ने प्रहरीले बताएको उनले सुनाए । रामकाजी सोही टाेलका स्थानीय बासिन्दा पनि हुन् ।
यता हातपात गर्ने टाेलका कोषाध्यक्ष श्रेष्ठले झगडाको सुरुवात रामकाजीबाटै भएकाले हातपात गरेको बताउँछन् ।
‘टाेलको कोषाध्यक्ष भएपछि मैले मन्त्री सामु बिर्फिङ गर्दै थिए उसले पहिल्यैदेखि काम मिलेन भन्दै दुईतिन घण्टादेखि काम रोकेको थियो त्यसपछि मात्र धकेलेको हो,’ श्रेष्ठले भने ।
पोखरा महानगरपालिका वडा ८ मा रहेको बुद्ध मार्ग बाटो ढलान गर्नका लागि महानगरबाट २५ लाख बजेट परेको थियो ।
सोही मार्गमा अघिल्लो वर्ष सांसद विकास कोषबाट पनि नालाका लागि २५ लाख बजेट परेको थियो ।
४ सय २० मिटर सडकमा ढलान गर्न बजेट परेको हो ।
बाटो ढलान कार्य आज बिहानदेखि सुरु भएको थियो ।










