प्रेस चाैतारीकाे पाेखरा महाधिवेशन सबै पत्रकार मिलेर सफल मिलाउने

सिटी पोखरा
  • ख-
  • ख+

पोखरा ।
प्रेस चौतारी नेपालको आसन्न नवौं राष्ट्रिय महाधिवेशनको छेको पारेर पोखरामा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

महाधिवेशन अन्तगर्त प्रचार प्रसार उपसमितिको आयोजनामा शनिबार भएको छलफल कार्यक्रममा पत्रकारका विभिन्न संगठनमा क्रियाशिल कास्कीका अग्रज पत्रकार सहभागी थिए ।

उनीहरुले महाधिवेशनलाई सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आस्था तथा जिम्मेवारीको हिसाबले फरक ठाउँमा भएपनि एजेन्डाको हिसाबले सबै पत्रकार एकैठाउँमा रहेको भनाई सहभागीको रहेको थियो ।

प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने बताइन् । आचार संहिताको पालना नहुँदा पत्रकारिताको मर्यादा खस्कदै जान थालेकामा उनको चिन्ता थियो । पत्रकार दलिय पक्षधरता तथा व्यक्तिगत पक्षधरता भन्दा माथी उठ्न सक्नुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले महाधिवेशनलाई सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । आस्थाको हिसाबले फरक ठाउँमा रहेपनि सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले  चौतारीको राष्ट्रिय महाधिवेशनले ठोस सन्देश दिन सक्नुपर्ने बताए । संघियता कार्यान्वयन गराउन प्रदेशलाई बलियो बनाउनुपर्ने तर्क उनले गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बन्जराले पत्रकारको कलम सधैं प्रतिपक्षमा चल्नुपर्ने बताए । पत्रकारका समस्या एकजुट भएर समाधान गनुपर्र्ने भनाई उनको थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले महाधिवेशनमा सहयोग गर्न पत्रकार महासंघ कास्की शाखा तयार रहेको बताइन् ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले पत्रकारका एजेण्डामा सबै एकैठाउँमा उभिनुपर्ने बताए । पोखरेली पत्रकारमा आत्मियता तथा संस्कार छ भन्ने कुरा देशैभरका पत्रकार माझ झल्काउनुपर्ने उनले सुनाए ।

न्युनतम पारिश्रमीक निर्धारण समितिका पूर्व अध्यक्ष तथा प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले प्रेस चौतारीको पोखरामा हुने महाधिवेशन आम पत्रकारको महाधिवेशन भएको बताए । महाधिवेशनमा पत्रकारका एजेन्डाले स्थान पाउनुपर्नेमा उनको जोड थियो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय नेता माधव पनेरुले पत्रकारिता क्षेत्रलाई अब कसरी अगाडि बढाउने भन्नेमा बहस हुन जरुरी रहेको बताए । नवौं महाधिवेशनबाट सक्षम र सवल नेतृत्व चयन गर्न सकोस् भन्ने शुभकामना उनले दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिनाले महाधिवेशनमा पत्रकारिताका नीतिगत विषयमा छलफल हुनुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका विकृती विसंगतीको अन्त्य गर्दै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन तर्फ ध्यान दिनुपर्ने उनले बताए ।

फोनिजका पूर्व अध्यक्ष हुम तमुले पत्रकार पार्टी राजनीति भन्दा माथी उठ्न सक्नुपर्ने बताए । प्रेस चौतारीले सबैलाई समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताए । महाधिवेशनबाट आउने नेतृत्वमा समेत पोखराले दावी गर्नुपर्नेमा उनको जोड थियो ।

प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्ष शिवराज बस्ताकोटी शिवदाईले सबै मिलेर महाधिवेशन सफल पार्नुपर्ने बताए । यसको लागि साथ दिन तयार रहेको उनले सुनाए ।

प्रेस चौतारी नेपालको आसन्न नवौं राष्ट्रिय महाधिवेशन अन्र्तगत प्रचार प्रसार उपसमितिका संयोजक रञ्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सुष्मा पौडेल, प्रेस चौतारी नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष पुण्य पौडेल, कास्की शाखाका हालका अध्यक्ष अर्जुन गिरी र सहसचिव इश्वर देवकोटाले पनि बोलेका थिए ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन समेत फागुन २७ र २८ गते पोखरामा हुँदैछ । विभिन्न उपसमितिको क्रियाशिलता कारण राष्ट्रिय महाधिवेशनको रौनक पोखरामा बढ्न थालेको छ । राष्ट्रिय महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्