अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवा सञ्चालन

सिटी पोखरा
  • ख-
  • ख+

पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार  पोखराले विहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याएकाे छ ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याएकाे केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए।

विहानी सेवा संचालनसँगै पयर्टकहरुले विहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

गत फागुन ६ गतेदेखि नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरबाट सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १०मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ ।

१७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जना सम्म बसेर  सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताईएको छ ।
कम्पनीले नेपालीका लागि रु.७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी विधार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले  जानकारी दिए ।

शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको हाे ।

कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्