
पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)बाट बागी उम्मेदवारी दिएका युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
गत वैशाख १२ गते गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जिसीले आज लाहाचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् । “सम्पुर्ण मेरा शुभचिन्तकहरुमा म क्षमायाचना गर्न चाहान्छु ७० बर्षमा पनि पार्टीलाई जिताउन हिड्ने के पि बा देख्दा मन मानेन मैले निर्वाचन जितौला तर मेरो कारणले पार्टी हार्यो भने लाल गद्दार भएर समाजमा रहन पनि सक्ने परिस्थिति बन्दैन समृद्धि नेपाल सूखी नेपालिको हाम्रो सपना कसरी पूरा गर्ने म र मेरो बर्गिय चिन्तनबाट प्रेरित सम्पुर्ण शुभचिन्तकहरुलाइ सुर्य चिन्हमा मतदान गरि म प्रतिको माया झन प्रगाढ बनाइदिनु हुन अनुरोध सहित अपिल गर्दछु । साथै राष्ट्रिय युवा संघ नेपाल कास्की विभिन्न बाधा अवरोह सग जुनसुकै तवरले जुध्न सक्ने क्षमता राख्ने सङगठन हो कहि कतै नेकपा एमाले विरुद्ध ठेस लाग्ने मात्र काम गरेको पाइएमा संगठनले टुलुटुलु हेरेर बस्ने वाला छैन सिरानी भित्र लुकाएर राखेको खुकुरीको रुपमा युथफोर्ष लगाउन नपरोस भन्दै स्वच्छ मर्यादित तवरले निर्वाचनमा प्रतिस्पर्धा गर्न आग्रह गर्न चाहन्छु।”
जिसीको उम्मेदवारी फिर्ता गराउन राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, नेकपा(एमाले)बाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका उम्मेदवार विक्रम गुरुङ लगायले पहल गरेका थिए ।