
स्याङजा । स्याङजा समाज यूकेका प्रमुख सल्लाहकार दिपक गुरुङ (डेभिट) ले सिरुवारी नै देशको साँस्कृतिक राजधानी भएको बताए । बेलायतबाट नेपाल आएका गुरुङलाई स्याङजाको सिरुवारीमा सम्मान समेत गरिएको हो । सिरुवारी गुरुङको जन्मगाउँ पनि हो ।
उनलाई नवयुवा क्लबले सम्मान गरेको हो । एनआरएनए यूके, तमुधि यूके, हिन्दु महासंघ यूके, सोपाल समाज यूकेका सल्लाहकार समेत रहेका गुरुङलाई क्लबले एक विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै गुरुङले आफ्नो बुवा भुपु प्रधानपन्च स्वर्गीय लाल बहादुर गुरुङको सिरुवारी प्रती देखेको सपनालाई साकार पार्ने प्रतिबद्धता समेत प्रकट गरे ।
देश बिदेशमा रहेका सबै नेपालीको ध्यान आकर्षण गरि सिरुवारीको बिकासमा लगाउन प्रयत्न गर्ने र निजि श्रोतका लगानी कर्ताहरुलाई समेत भित्र्याउन पहल गर्ने उनले बताए ।
दक्षिण एसिया कै पहिलो होमस्टे रहेको सिरुवारी यतिबेला आन्तरिक तथा बाहिए पर्यटनको केन्द्रको रुपमा बिकास भएको छ । कार्यक्रममा सिरुवारीको दिगो बिकासको बारेमा समेत चर्चापरिचर्चा गरिएको थियो ।
सो कार्यक्रममा स्याङजा समाज यूकेका महासचिव डा. बलराम ढकाल, महिला उधमी शोभा गौतम , गायक राजन कार्की लगाएतको उपस्थिती रहेको थियो ।
सम्मानित भए पश्चात् गुरुङले कामको रोजगारीका शिलशिलामा विश्वको जुनसुकै कुनामा पुगेपनि गाउँको माया मार्न नसकिने बताए । आफ्नो देश र जन्मगाउँलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्न आफू तत्पर रहेको उनले बताए ।
सोही अवसरमा कोभिड कहरको संकटमा डेभिड गुरुङले गरेको सहयोग सिरुवारीका स्थानीयले सम्झिए । सम्मान कार्यक्रम नवयुवा क्लबका सचिव उर्मिला गुरुङले सन्चालन गरेकी थिइन् ।