
हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा आगामी असार १५ गते हुने दाेस्राे हेमजा हिले महोत्सव २०७९ को तयारी थालिएकाे छ ।
आईतवार बसेकाे समाजकाे वैठकले हिले महाेत्सवलाई सफल बनाउन तयारीलाई तिव्रता दिने निर्णय गरेकाे छ ।
“कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ ।
महोत्सवको आकर्षणमा पुरुष,महिला रस्साकस्सी, ४० बर्ष माथि पुरुष हिले दौड, खुल्ला पुरुष हिले दौड, ३० बर्ष माथि महिला हिले दौड ,खुल्ला महिला हिले दौड, पुरुष रस्सी तान्ने घैटो फुटाउने ,धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, गोरु दौड,चम्चा दाैड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक हरिश्चरण पाैडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

महाेत्सवमा असारे गितससँग सम्बन्धित प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएको छ ।
कृषक हुनुमा गर्व र हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने, मिहनेति किसानलाई प्रोत्साहन गर्ने तथा स्थानिय विष्णुपादुका मन्दिरमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।
यसअघि २०७६ मा प्रथम हेमजा हिले महाेत्सव भएकाे थियाे । तर विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाईरसकाे कारण महाेत्सवले निरन्तरता पाउन सकेकाे थिएन ।