पोखरा उद्योग वाणिज्य संघकाे अध्यक्षमा अर्जुन पोखरेलकाे उम्मेदवारी

  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

संघको ३४औं महाधिवेशन यही भदौ २४ र २५ गते हुँदैछ । पोखरेल वर्तमान कार्यसमितिमा वाणिज्य तर्फको उपाध्यक्ष छन् । कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै उनी वाणिज्य उपाध्यक्षमा भएका हुन् ।

लामो समयसँग संघमा रहेर सक्रिय भएको र उपाध्यक्षसमेत भएर काम गरेकाले अध्यक्षमा उम्मेदवारी दिनु स्वभाविक भएको उनले बताएका छन् ।

सम्पूर्ण उद्योगी, व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलको प्रतिबद्धता छ । निजी क्षेत्रको समस्यालाई नजिकबाट बुझेको बताउँदै पोखरेलले सम्पूर्णबाट साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।

अग्रज, समकालीन र अनुज सबैसँग सल्लाह गरेर अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको पोखरेलले बताए । संघलाई सबै पोखरेलीको साझा घरका रुपमा विकास गर्ने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता छ ।

संघले आर्थिक भार व्यहोर्नु परेको स्मरण गर्दै उनले अहिले भइरहेको भवनलाई बहुतले बनाएर व्यासायिक प्रयोगमा लगाउने र संघको आर्थिक अवस्था मजबुत बनाउने पोखरेलले बताए ।

संघ अन्तर्गत स्थानीय व्यापार इक्युबेसन सेन्टर स्थापना गरिने उनको भनाइ छ । उनले आफ्ना प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्