नवौं राष्ट्रिय खेलकुद : खेलस्थल व्यवस्थापनको तयारी अन्तिम चरणमा,अधिकांश खेल पोखरा केन्द्रित हुन सक्छ : उपसमिति संयोजक गुरुङ

  • ख-
  • ख+

सुरज श्रेष्ठ/शशि पौडेल/पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको संयोजक राजेश कुमार गुरुङले बताएका छन् ।

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको खेल स्थल व्यवस्थापनको जिम्मेवारी पाएका राष्ट्रिय खेलकुद परिषद सदस्य समेत रहेका गुरुङले यस्तो बताएका हुन् ।

शुक्रबार पोखरा रंगशालामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश राजधानी पोखरा केन्द्रित हुने संकेत गरेका छन् । खेलस्थल तथा अभ्यास मैदानको खोजी गर्दै प्रदेशका ११ वटै जिल्ला घुमेको गुरुङ नेतृत्वको समितिले प्रतियोगिताका अधिकांश खेल पोखरा केन्द्रित हुन सक्ने संकेत गरेको हो ।

विशेषगरि प्रदेशका अधिकांश जिल्लामा खेल पुर्वाधार र बर्खाका कारण सडकमार्ग बिग्रेको हुनाले पनि सबै जिल्लामा सोंचेजसरी प्रतियोगिता सञ्चालन गर्न कठिनाईं हुनसक्ने उनले बताए । गुरुङका अनुसार केही जिल्लामा भने प्राविधिक टोलीसंगको परामर्शमा प्रतियोगिताका लागि खेलस्थलको अन्तिम टुंगो लगाउने तयारी भएको छ । उनले भने, ‘प्रदेशका ११ वटै जिल्लामा लैजाने भनेको खेल पुर्वाधारहरुको अभावका कारण लैजान नसकिने भएको छ, अधिकांश खेल पोखरामा सञ्चालन गर्ने योजना बनाएका छौं । यद्यपी केही खेलभने गोरखा, स्याङ्जा, नवलपुर, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, म्याग्दी लगायतका जिल्लामा सञ्चालन गर्न हुने सम्भव देखिएको छ ।’

कुन जिल्लामा कुन खेल खेलाउने भन्ने टुंगो खेलपदाधीकारी, प्राविधिक टोली लगायतसँगको छलफल पछि यही १५ गतेभित्र सार्वजनिक गरिने उनले बताए । उनले भने, ‘खेल खेलाउने मात्रै ठूलो कुरा होइन, त्यसको व्यवस्थापकिय पक्ष ठूलो कुरा हो । अस्पताल, सुरक्षा, बसोबास, यातायात लगायतलाई आधार मानेर खेलस्थल सिफारिस गरेका छौं ।’

खेल पूर्वाधार अन्य जिल्लामा छैन : गुरुङ
आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को प्राय खेल कास्की जिल्लामा नै हुने भएको छ ।
खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएका राजेश गुरुङले गण्डकी प्रदेशको अन्य जिल्लामा पुगेर खेल स्थलको अवलोकन गरिसके पछि शुक्रबार पोखरा रंगशालामा पत्रकारहरुलाई सो कुरा बताएका हुन ।
गुरुङले प्रतियोगिताको मुखमा आएर सबै जिल्लामा अहिले नै पूर्वाधार निमार्ण गरेर प्रतियोगिता आयोजना गर्न संम्भव नभएको बताए ।
गण्डकी प्रदेशको राजधानी पोखरामा समेत सबै खेलकुदको पूर्वाधार निमार्ण नभएको कारण नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट लगायतका केहि खेल काठमाडौमा आयोजना गर्न पर्ने बाध्यता भएको स्विकारे ।

सबै खेलका पदाधिकारीहरुलाई आफ्नो जिल्लामा खेल भएन भनेर सानो मन नगर्न आग्रह गर्दे आफ्नो प्रदेशमा ३९ वर्ष पछि हुन लागेकोमा खुशी व्यक्त गर्दे राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरे ।

सरकारले खेलकुदको विकास गर्ने हो भने राजधानी केन्द्रित मात्र हुन नहुने भन्दै सरोकारवाला निकायको ध्यान जिल्ला जिल्लामा पुग्न पर्ने बताएका छन ।

प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषद बिच समन्वय भएन कि भन्ने प्रश्नमा उनले भने ‘प्रदेश परिषदले आफ्नो काम गरिरहेको छ,मैले मेरो जिम्मेवारी पुरा गर्न दिनरात काम गरिरहेको छु ।’ म एक्सनमा जाने मान्छे हो,खाली मिटिड गरेर फोटो खिचे मात्र समन्वय भएको भन्ने हुन्न,’सदस्य सचिव संग फोनमा कुराकानी भई रहन्छ,काम निरन्तर अघि बढिरहेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्