मतदातालाई आफ्नै हातले बनाएको चियाः अरुण गिरीको फरक शैलीको चुनावी प्रचार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले प्रचारको नयाँ शैली अपनाएका छन् । आफ्नो क्षेत्रको मतदाताहरुसँग मत माग्न उनले चिया बेच्ने नयाँ शैली अपनाएका हुन् । गिरीले राप्रपाको सम्पर्क कार्यालय पोखराको सृजनाचोकमा चियाको स्टल राखेर आफै चिया पकाएर मतदाताहरुलाई खुवाएका थिए । बुधबार दिउँसो ४ बजेदेखि करिब ३ घण्टा उनले मतदाताहरुलाई आफैले चिया पकाएर खुवाए ।

चिया खुवाउँदै उनले सहभागी मतदाता र सुभचिन्तकहरुलाई उनले आफ्ना चुनावी एजेन्डाहरु पनि सुनाए । त्यस्तै उनले उपस्थित मतदाता र सुभचिन्तकहरुको सल्लाह सुझाव लिए । फरक शैलीको प्रचारप्रसारलाई मतदाताहरुले निकै रुचाएका थिए । ‘खासगरि चियागफको अवधारणामा मैले मतदाताहरुसँग भेट्ने एउटा वहाना खोजेको थिएँ । अत्यन्त व्यक्तिगत र आत्मिय तरिकाले मैले मेरो क्षेत्रको मतदाताहरुसँग कुराकानी गर्न चाहेको थिएँ । मेरो र पार्टीको एजेन्डा सुनाउन चाहेको थिएँ । त्यो सँगै मतदाताहरुको चाहना के छ भन्ने कुरा बुझ्न पनि चाहेको थिएँ ।’ उम्मेदवार गिरीले भने -‘हामीले गरेको यो चुनावी प्रचारको शैलीले राम्रै गरेको छ ।’ करिब ३ सय जनाले बुधबार अरुण गिरीसँग चियागफमा सहभागी भएको राप्रपा कास्की क्षेत्र नम्बर २ २ को प्रचारप्रसार समितिले जनाएको छ ।

चिया बनाएर मतदाताहरुलाई खुवाउनुलाई अरुण गिरीले फगत प्रचार मात्र नभई एउटा सन्देश पनि भएको बताए । ‘श्रमको सम्मान गर्दै युवा पुस्तालाई स्वरोजगार बनाउन आवश्यक छ भन्ने सन्देश मैले यो कार्यक्रममार्फत दिन खोजेको हुँ ।’ गिरीले भने -‘त्यो बाहेक जनप्रतिनीधिलाई जनताले सजिलै आफ्ना भेट्न र आफ्ना कुराहरु राख्न पाउनुपर्छ भन्ने सन्देश पनि मैले दिन खोजेको हुँ ।’ उनले अहिलेको अवस्थामा जनप्रतिनीधि र जनताको दुरी बढ्दै गएको बताउँदै चुनावमा मात्र जनतासँग निकटता देखाएर नाटक गर्ने जनप्रतिनीधि आफू कहिल्यै नहुने बताए ।

उम्मेदवारसँग चिया गफ कार्यक्रममा अधिकांश युवाहरुको सहभागीता रहेको थियो । उपस्थित युवाहरुले राजनीतिमा अब युवा नेतृत्व आवश्यक भएकोले अरुण गिरीजस्ता युवा सोँच र व्यवहार भएका उम्मेदवारलाई जिताउन आवश्यक भएको तर्क दिएका थिए । त्यस्तै चियागफमा सहभागी वृद्धवृद्धाहरुले पनि पुराना दलहरुबाट परिवर्तनको कुनै छनक नदेखिएको उल्लेख गर्दै अबको युग युवाकै भएको बताएका थिए ।

अरुण गिरी राप्रपा कास्कीका प्रवक्ता समेत हुन् । उनी अब उदाहरण बन्ने पालो पोखराको भन्ने नारासहित चुनावी मैदानमा होमिएका छन् । देशलाई समबृद्धि र विकासको बाटोमा लान सहि नीति निर्माणसँगै कार्यान्वयनमा लानका लागि आफूले राप्रपाबाट उम्मेदवारी दिएको गिरीको तर्क छ । देशको अवस्थासँगै व्यवस्था परिवर्तन गर्ने सुनौलो मौका आसन्न निर्वाचन भएको भन्दै गिरीले यो पटक राप्रपाको चुनाव चिन्ह हलोमा भोट हालि परिवर्तनको साक्षी बन्न मतदाताहरुलाई आग्रह गरेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्