माछापुच्छ्रेको अलैंची जोनको जिल्ला समन्वय समिति कास्कीद्धारा अनुगमन

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको अनुदानमा गरिएको अलैँची खेतीको अनुगमनको क्रममा प्रमुख पौडेलले नगदे बालीको रुपमा चिनिने अलैँची खेतीप्रति कृषकहरु निकै उत्साहितसँगै खेती विस्तारका लागि कृषकबाट माग भएको बताए ।

“माछापुच्छ्रेवासीलाई अलैँची खेतीबाटै आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त रहेछ । सेपिलो जग्गामा हुने अलैची खेतीमा कृषकको उत्साह र मेहनत पनि राम्रो देखियो ।”उनले भने -“खेर गएको जमिनलाई सदुपयोग गर्दै एकचोटिको मेहनतले लामो समय प्रतिफल लिन पाइने भएकाले यस क्षेत्रलाई अलैची गाउँको रुपमा विकास गरी कृषकका लागि थप कार्यक्रम ल्याउन आवश्यक छ ।”

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका परियोजना कार्यान्वय इकाइ कास्कीका प्रमुख एवम वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादि गाउँपालिका विभिन्न वडाहरुमा अलैँची खेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताए । उनले भने-“माछापुच्छ्रेको कोलेली, धिताल अलैँची जोनको अनुगमनमा कृषकहरु यसखेतीबाट लाभान्वित भएको पायौँ, व्यक्तिगत र समूहमा गरेर अलैँची खेती गर्नुभएको छ, ।”

उनले अनुदानबाट सिँचाइमा ८५ प्रतिशत र क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, अलैँची सुकाउने आधुनिक भट्टि निर्माण, यन्त्र उपकरण, नर्सरी, अलैचिको बेर्ना लगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको जानकारी दिए । यस कार्यक्रमले कृषकहरुलाई अलैचि खेति तर्फ आर्कषित गरेको उनको भनाई छ ।

अनुगमनको क्रममा केही कृषकको माग सम्बोधन नभएको गुनासो, बिक्रीका लागि भारतीय बजारको भर पर्नु परेको, केही ठाउँमा छहारी व्यवस्थापन गर्नुपर्ने आवश्यता, अलैँची बाली कटान त्यस पूर्वका कार्यका लागि स्थानीय कामदारको अभाव लगायतका समस्याहरु कृषकले सुनाएका थिए ।

परियोजनाका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठ अनुसार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वटा २, ६, ७ , ८ र मादिगाउँपालिकाको १,२,३, ८, १० र ११ त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं १,३,४,७, १० र ११ पोखरा महानगरको १६ र १९ मा अलैची जोनका लागि कार्यक्रम संचालन गरिएको छ ।

कोलेलीमा करिब ७० रोपनी जग्गामा अलैचि खेती गरेका ज्योति अर्गानिक कृषि फर्मका सञ्चालक नरेशराज लामिछानेले अहिले यस क्षेत्रका स्थानीय अलैची खेतीबाट निकै उत्साहित र लाभान्वित भएको बताए । रोपेको ३ वर्षबाट उत्पादन दिन शुरु हुने, खेर गएको जग्गामा खेती गर्न सकिने र नगदे बालि भएकाले आयआर्जनको राम्रो माध्यम बनेको उनको भनाई छ ।

माछापुच्छे मर्दी अलैचि ब्लक क्षेत्र संचालक समितिका अध्यक्ष दिपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर विक्रि गरिने बताए । उनले अघिल्लो वर्ष प्रतिकेजी ११ सय रुँपैया बिक्री गरीएकोमा अहिले ८ सय प्रति केजी रहेको र कृषकले उचित मुल्यको कुरेर बसेको बताए । उनले अलैँचीको अन्तराष्ट्रिय बजार भएकाले यसको मुल्य सुची घटबढ भइरहने जानकारी दिए ।

पौडेललेका अनुसार उक्त क्षेत्रमा बार्षिक १५/१६ हजार केजी अलैँची उत्पादन हुने र करिब डेढ करोडको अलैँचीबाट आम्दानी गर्न सकिने साथै वेर्नाबाट पनि थप आम्दानी हुन्छ ।

अनुगमनमा समन्वय अधिकारी नवराज बराल, परियोजनाका लेखापाल मिलन भुजेल, कृषि इन्जिनियर अर्जुन गौतम र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा लगायत स्थानीय अलैँची कृषकहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्