गण्डकीका अर्थमन्त्रीमाथि सरकारी बजेट आमा समूहलाई बाँडेको आरोप,आयोगमा उजुरी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ ।

माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग गरेर बरालले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।

उनले सरकारी ढुकुटीको पैसा रकमान्तर गरेर आमा समूहलाई बाँडेको भन्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको हो । पोखरा महानगरपालिका १७ निवासी महेन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेक अन्य कार्यक्रम, योजना घोषणा गर्न नहुने व्यवस्था छ । तर, अर्थमन्त्री बरालले पाँच करोड रूपैयाँ पैसा विभिन्न आमा समूहसहित संस्थाको भवन बनाउन दिने भनेर रकमान्तर गरेको भन्दै उजुरी परेको हो ।

पौडेलले बुधबार अर्थमन्त्रालयमा पुगेर रकमान्तरको विषयमा सूचना माग गरेका थिए । तर, अर्थ मन्त्रालयका सूचना अधिकारीले निर्णयको फाइल मन्त्रीसँगै भएकाले आफूलाई जानकारी नभएको भन्दै फर्काइदिएका थिए । उजुरीकर्ता पौडेलले गत २७ कार्तिकको मन्त्रीस्तरीय निर्णयबाट आमा समूहको भवन निर्माणमा सहयोग गर्ने निर्णय भएको जानकारी आएपछि उजुरी दिएको बताए ।

बरालविरुद्ध बुधबार नै कालोसूचीमा परेको मान्छे भनेर उम्मेदवारी खारेज माग गर्दै अर्को उजुरी परेको थियो । त्यो विषयमा निर्वाचन अधिकृतको कार्यालयले उनलाई स्पष्टीकरण सोधेको छ । बरालले भने पुरानो घटनालाई चुनावको बेला अतिरञ्जित बनाइएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्