३ विद्यार्थी संगठनले भने-´क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिको गैरजिम्मेवारपनले स्ववियु निर्वाचन अनिश्चित`

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भए पनि देशको ठूलो मानिने पृथ्वीनारायण क्याम्पस लगायत त्रिविका १३ वटा क्याम्पसमा भने आइतवार स्ववियु निर्वाचन हुन सकेन । ती क्याम्पसहरुमा आन्तरिक विवादका कारण स्ववियु निर्वाचन हुन नसकेको केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

देशकै धेरै विद्यार्थीले अध्ययन गर्न पोखराको पृथ्वीनारायण क्याम्पसमा क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिको गैर जिम्मेवारीपनाले स्ववियु निर्वाचन अनिश्चित भएको भन्दै अखिल क्रान्तिकारी (विप्लव), अखिल (छैटौं), अखिल (क्रान्तिकारी) संयुक्तले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

तीन विद्यार्थी संगठनले क्याम्पस प्रशासनबाट चुहावट भएको विद्यार्थीहरुको व्यक्तिगत विवरणको विषयमा छानविन गर्नुपर्ने , क्याम्पस प्रशासन वा त्रि.वि.बाट तलबभत्ता पाएका प्राध्यापक कर्मचारीहरुले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र निष्पक्ष स्ववियु निर्वाचनको वातावरण बनाउनु पर्ने आफुहरुको माग रहेको शान्तिपूर्ण संघर्षमा रहेको बताएका छन् ।

अखिल क्रान्तिकारी (विप्लव)का केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम गण्डकी इन्चार्ज प्रकाश बास्तोलाले भने
‘हामी स्ववियु चुनावकै पक्षमा छौं । तर, विद्यार्थीको डाटा लिक हुनु भनेको गम्भीर विषय हो । यस विषयमा छानविन हुनै पर्छ, हाम्रो माग त्यत्ति हो ।’ विज्ञप्तिमा भनिएको छ -‘हामी क्याम्पस प्रशासन र निर्वाचन समितिसँग पटक पटक सम्वादमा बस्यौ तर प्रशासन निर्वाचनको पक्षमा नदेखिए पछि निर्वाचन समितिले पनि राजिनामा गरेको अवस्था छ । यस्तो परिस्थितिमा हामीले चाहेर पनि निर्वाचन हुने अवस्था देखिएन । उल्टै सम्मानीत उच्च अदालतबाट चैत्र ८ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि नगर्नु भन्ने अन्तरिम आदेश जारी भएकाले यो परिस्थितिको निर्माणमा क्याम्पस प्रशासनको पक्षबाट पूर्ण र दुशित मनासाय नै जिम्मेवार रहेको स्पष्ट छ । हामी सदैव स्वच्छ प्रतिस्पर्धा र विद्यार्थीको संघर्षको मोर्चा स्ववियूको पक्षमा रहेको यसै विज्ञप्ति मार्फत सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी, बुद्धिजिवी र पत्रकार मित्रहरुमा जानकारी गराउन चाहन्छौ ।’

पोखरामा त्रि.वि.का आँगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरु पोखरा नर्सिङ क्याम्पस , पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, जनप्रिय क्याम्पस, विन्ध्यवासिनी विद्यापीठ र वनविज्ञान अध्ययनमा पनि स्ववियु निर्वाचन हुने भनिएका ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्