पोखरा ।
पोखरामा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाखको २ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो ।
तालिममा अनलाइन पत्रकारिता, समाचार लेखन, तथ्यजाँच र पत्रकार आचारसंहिताका विषयमा सेसनहरु सञ्चालन भएका थिए ।
अनलाइन पत्रकारिताको विषयमा केशव शरण लामिछाने, समाचार लेखनको विषयमा भरत कोइराला, तथ्यजाँचका विषयमा दिपक अधिकारी र पत्रकार आचारसंहिताका विषयमा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण गराएका थिए ।
तालिम समापनका क्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले अनलाइन पत्रकारिताको विकास नेपालमा छोटो अवधिमा निकै चाँढो भएको उल्लेख गरे ।
उनले नेपालमा पत्रकारिता सम्बन्धी आउने अधिकांश उजुरी अनलाइनका सन्दर्भमा हुने भएकाले यसलाई थप मर्यादित बनाउन आवश्यक रहेको बताए ।
प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा भुमिका खेल्नुका साथै सञ्चारमाध्यमलाई आचारसंहिता कार्यान्वयनका बारेमा निरन्तर सम्झाउने काम गरिरहेको बताए ।
देशभरका रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनका डाटाहरु काउन्सिलसंग रहेको भन्दै आवश्यक परेका बेला त्यसलाई आधार बनाएर कारबाही प्रकृयाहरु अगाडी बढाइरहेको उनको भनाई छ ।
पत्रकारिताको विकासको लागि र अनलाइनलाई थप मर्यादित बनाउन तालिमहरुले निकै ठुलो भुमिका खेल्ने बोहराको भनाई रहेको छ ।
कार्यक्रममा प्रशिक्षक एवं पत्रकार केशव शरण लामिछानेले पत्रकारहरु पलपल अपडेट हुनुपर्ने भएकाले पुनर्ताजकीको लागि तालिम निकै फलदायी हुने विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न पत्रकारले निरन्तर प्रयास गर्नुपर्ने उल्लेख गरे ।
पत्रकार कुनै न कुनै अनलाइनसंग जोडिरहेकाले आफुले पनि थुप्रै कुराहरु तालिमका दौरान सिक्न पाएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बोल्दै पत्रकार कमल पौडेल अथकले पत्रकारिताका धेरै तालिमहरु लिएको भएपनि अनलाइन पत्रकारिता तालिम निकै सान्दर्भिक र व्यवहारिक भएको बताए ।
उनले कुनै पनि संस्थाले एक पटक तालिम दिएपछि सोहि विषयमा फेरि त्यहि किसिमको तालिम नदिने गरेको भन्दै अनलाइन पत्रकारिता तालिम पटक पटक आयोजना गर्नुपर्ने बताए ।
उनले पत्रकारिता पढेकाले पनि समाचार राम्रोसंग लेख्न नसकेको भन्दै व्यवहारिकता महत्वपुर्ण कुरा रहेको टिप्पणी गरे । पत्रकारिता पढेर मात्रै नभई व्यवहारिक रुपमा निरन्तर लेख्ने अभ्यास गरिरहनुपर्ने विषय भएको बताए
त्यस्तै पत्रकार ज्योती हमालले अनलाइनको तालिम अहिलेको सन्दर्भमा निकै आवश्यक रहेको बताईन् । उनले पत्रकारितामा महिलासहभागिता बढ्न नसकेको भन्दै यस्ता तालिमहरुमा महिलाको सहभागिता बढाएर पत्रकारितामा महिलाहरुलाई ल्याउन सक्नुपर्ने उनकाे भनाई छ ।
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले अनलाइन पत्रकारिताको विकासको निमित्त तालिम अत्यावश्यक भएकाले यसलाइ निरन्तरता दिइने बताए।
उनले दर्ता नभइ संचालनमा रहेका अनलाइनलाई दर्ता गर्न लगाउने, दर्ता भएर विधिसम्मत तरिकाले सञ्चालन भएका अनलाइनलाई संघ मातहत ल्याएर अहिले देखिएका समस्याहरु समाधानमा संघ क्रियाशिल रहने बताए ।
तालिममा पोखराका ४० जना पत्रकारहरुको सहभागिता थियो ।










