पाेखरा ।
डिभिजन वन कार्यालय कास्कीले विहिवार वृक्षारोपण गरेकाे छ । कार्यालयले ९० वटा डाले घास प्रजातिको बिरुवा राईखनी र १० वटा लप्सीको बिरुवा जयकोट सामुदायिक वनमा रोपेको डिभिजन वन कार्यालय डिभिजनल वन अधिकृत केदार बरालले जानकारी दिए ।

‘उत्पादन रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने मूल नाराका साथ देशैभर मनाईएकाे सामुदायिक वन राष्ट्रिय दिवसकाे अवसरमा वन कार्यालय कास्कीले वृक्षाराेपण गरि दिवस मनाएकाे हाे । वृक्षाराेपण कार्यकाे व्यवस्थापन जयकोट सामुदायिक वन उपभोक्ता समूहले गरेकाे थियाे ।
जयकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष क्षेत्र बहादुर कार्कीले सामुदायिक वनको संरक्षण र सम्बर्द्धनका लागि सामुदायिक वन उपभोक्ताकाे ठूलो भूमिका रहेको बताए ।
डिभिजन वन कार्यालय डिभिजनल वन अधिकृत बरालका अनुसार कास्कीमा २१ हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ । ५११ वटा सामुदयिक वनको ४७ हजार ३ सय ३८ लाभान्वित घरधुरि संख्या रहेका छन्।
यस्तै सामुदायिक वन बाहेक धार्मिक वन ११.२ हेक्टर र निजी वन २४.४५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । धार्मिक वन ५ वटा र निजी वन ४० वटा छन् ।

हाल देशभर १७ लाख ९८ हजार ७३३ हेक्टर क्षेत्रफलमा १८ हजार ९६० सामुदायिक वन रहेका छन्।
नेपालमा पहिलो सामुदायिक वन सिन्धुपालचोकको ठोगर्व गाउँपञ्चातमा साउन २५ मा हस्तान्तरण गरेको दिनलाई सम्झेर वि.सं. २०७० देखि सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु भएको हो ।










