विदेशबाट फर्केर पाडामा भविष्य खोज्दै मेलौरीका लुङदेली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नवलपुर जिल्लाको बुलिङटार वडा नंं. २ मेलौरीका टेक बहादुर लुङदेलीले व्यवसायिक रुपमा पाडा पाल्न थालेका छन् । पाँच वर्ष विदेशमा पसिना बगाएका उनले स्वदेश फर्केर पाँडा पालनमा भविष्य देखेका हुन् ।

दुई वर्ष साउदीको होटलमा वयटर र साढे तीन बर्ष मलेसियामा सुरक्षा गार्डमा काम गरेको बताउँदै उनले विदेश छोडेर परिवारसंगै वसेर उन्नत जातका भैंसीका पाडा पाल्न शुरु गरेको जानकारी दिए ।

कालिगण्डकी करिडोरको आशपासमा र सो क्षेत्रमा बाँझिएको जग्गामा दशवटा पाडा चराउदै गरेको अवस्थामा भेटिएका लुङदेलीले भने, “एक वर्षअघि दुई लाख ४० हजारमा खरिद गरेका ११ वटा पाडा मध्ये एउटा मरेको र हुर्केका १० वटा विक्री गरेर छ लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्य छ ।”

“नलवपुरको डेढ गाउँ र आशपासमा सवै भन्दा बढी राँगाको मासु विक्री हुने गरेको छ” ३५ बर्षीय लिङदेलीले भने, “प्रजननका लागि राँगा बिक्री गर्ने पहिलो प्राथमिकतामा राखेको छु नभए आगामी दशंै पर्वमा काटेर मासु विक्री गर्ने सोचमा छु ।”

मलेसियामा १२ घण्टा सुरक्षा गार्ड गर्दाको दु:ख सम्झेर स्वदेशमा नै केहीगर्ने सोच बनाएर फर्केको बताउँदै उनले परिवारले समेत विदेशमा जान नदिएपछि श्रीमती मनुमायाको सल्लाह अनुसार पाडा पालन शुरु गरेको बताए ।

हुर्केका राँगाको मासु विक्रीबाट मात्र हैन मलले खेत वारीमा उत्पादन समेत बृद्धि भई दोहोरो फाईदा हुने गरेको छ । विदेशमा कमाएको ६५ हजार खर्च गरेर जग्गालाई चक्लावन्दि गरेको खेतमा यतिखेर दोव्वर धान उत्पादन भएको उनले बताए ।

साना गरा हुँदा खर्च बढि हुने र मल बगाउने र पानी समेत नपुग्ने दुखेसो सुनाउँदै उनले थपे, “ठुरा गरा र प्रशस्त पशुको मल राखेपछि एक हप्तासम्म पनि पानी अडिने गरेको छ ।” खेतमा धान निक्कै राम्रो भएको छ गोड्ने समयमा मात्र युरिया मलको प्रयोग गरेको उनको भनाई छ । उनले राँगासंगै दुई हल गोरु पनि चराउँदै आएका छन् । गोठमा चारवटा बाख्रा र दुईवटा खशी रहेका छन् । सो क्षेत्रमा अहिले पनि खेत वारी जोत्नका लागि ट्रयाक्टर भन्दा गोरुको प्रयोग बढी हुने गरेको छ । उनको सो क्षेत्रमा १२ हलको खेत र दुई हलको वारी रहेको छ ।

कालिगण्डकी करिडोले पूर्व पश्चिम राजमार्गको गैडाकोटस्थित कालिगण्डकीचोक र तनहुँको घिरिङ हुदै भिममादसम्मको बाटो खुलेपछि उक्त क्षेत्रको उर्वर फाँटमा उत्पादित कृषि उत्पादन बजारीकरणमा सुविधा पुगेको छ, कोरला, पोखरा–त्रिवेणी सडक सञ्चालन हुन सके यस क्षेत्र सहित गण्डकी प्रदेशको समृद्धिको आधार बन्ने उनको विश्वास छ ।

दुधको लोभले पाडापाडी नहुर्काउने र भारतवाट लाखौ रुपैयाँमा तिरेर भैंसी खरिद गर्ने हाम्रो समाजमा यस्ता विदेशबाट फर्केर व्यवसायिकरुपमा पाडापाडी पाल्ने युवालाई तीनै तहका सरकारवाट प्रोत्साहन गरिनुपर्नेमा स्थानीयको सामुहिक आवाज रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्