पाेखरा । राप्रपा नेपाल कास्कीले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुभकामना आदानप्रदान गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा नेपालका महामन्त्री कृष्णबहादुर कार्कीले ठूला दल भनाउँदाले देश विगारेको बताउँदै बडामहाराजधिराजको उपदेशलाई आत्मसाथ गरी देशलाई सनातन हिन्दु राज्य र संवैधानिक राजसंस्था अबको आवश्यकता भएको बताए ।
राप्रपा नेपालका केन्द्रीय कार्यसमिति सदस्य तथा पश्चिमाञ्चल विकास क्षेत्र समितिका संयोजक जयलाल पुनले राजसंस्था पुर्नस्थापना, प्रदेश संरचना खारेज, हिन्दुअधिराज्य कायम गरी जनघाती, राष्ट्रघाती, भ्रष्टाचारीलाई कारवाही गरी अखण्ड नेपाल निर्माण गर्ने तेस्रो जनआन्दोलन अपरिहार्य रहेको बताए ।
कार्यक्रममा पार्टीका सहायक महामन्त्री जगत सुवेदी, केन्द्रीय सदस्यहरु विश्वराज पौडेल, विष्णु भण्डारी, सूर्य बाँस्तोला लगायतले पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसाथ गरी सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक भई अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
राप्रपा नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष डा.दिपक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष महेश्वर आचार्य र कार्यक्रमको संचालन सचिव गणेश अधिकारीले गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।