
पोखरा ।
जलवायु वित्तमा सामुदायिक वन उपभोक्ता समूहको पहुँच र आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभासदस्य दामोदर पौडेल ‘वैरागी’ ले वन जंगल नाश हुँदै गएको र सहि सदुपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरे । सरकार र जनताको साझेदारीमा जडिबुटीको संरक्षण र उपभोग गर्नुपर्नेमा उनको जोड दिए । उनले वन जंगल, चारकोसे झाँडीका सम्बन्धमा बहस गर्न जरुरी रहेको बताए ।
कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले वन पैदावारको अधिकार स्थानीय तहलाई दिनुुपर्ने बताएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) तथा संघिय, प्रदेश सरकारको जिम्मा रहने नियम खोरज गरी स्थानीयलाई हस्तान्तरण गर्नुपर्ने उनले माग गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका ओझाले स्थानीयले प्राकृतिक स्रोतको उपभोग गर्नबाट वञ्चित हुँदा आयआर्जन गर्न नसकेको उनको ठम्याईं छ । ‘वन जंगलको जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ । उपभोग गर्न पाएमा मात्र यसको संरक्षण र व्यवस्थापनमा उपभोक्ता अग्रसर हुन्छन्, ।’ ओझाले वनलाई वन पयापर्र्यटनसँग जोड्न सकिने तर्फ गर्दै भने, ‘हामीले वन जंगलबाट आम्दानीमा गर्न सक्नुपर्छ, वनमा कुखुरा पालेर गुलेलीले हानेर मार्न पाइन्छ भनेर पर्यटक आकर्षित गर्न पनि सकिन्छ ।’
आधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले स्थानीय सरकारलाई अधिकार कम तर दायित्व भएकोले सोचेअनुरुपका विकास निर्माणका काम गर्न नसकेको बताए । उनले वन नीतिलाई कार्यान्वयन गर्न सके पनि ठुलो उपलव्धी हुने बताउँदै वनलाई आर्थिक उपार्जनमा जोड्न सकिने उल्लेख गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वनका माध्यमबाट जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको संरक्षण र दिगो व्यवस्थापन हुँदै आएको बताए । उनले स्थानीय समुदायको अधिकार सुनिश्चित गर्नका लागि स्थानीय वन ऐन मार्फत नै कार्य प्रक्रिया अगाढी बढाउनुपर्ने धारणा राखे ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख धनेन्द्र खनाल, डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत राजेन्द्र शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जीवन विक्रम उचै, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य हरि बाँस्तोला, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका सदस्य दिनेश श्रेष्ठ लगायतले वन उपभोग गर्न पाउनुपर्ने बताउँदै वन पैदावरको उपयोग गर्न पाएमा मात्र यसको व्यवस्थापन र संरक्षणमा स्थानीयको ध्यान पुग्ने तर्क राखे ।
कार्यक्रममा पोखरा महानगर फेकोफन नगर अध्यक्ष शोभित कोईरालाले जलवायु वित्तमा सामुदायिक वन उपभोक्ता समुहको पुहँच र आगामी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष किशोर सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव आँशु वि.क.ले गरेकी थिईन् ।