
तनहुँ । शनिबार चुँदी खोला सरसफाई कार्यक्रम सम्पन्न भएको छ । “म बदलिएँ मेरो देश बदलिन्छ” भन्ने मुल नाराका साथ तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका र भानु नगरपालिकाको सिमानामा पर्ने चुँदी खोला सरसफाई गरिएको हो ।
जथाभावी खोलामा फोहर फाल्ने क्रमले गर्दा त्यस ठाउँमा बसोबास गर्ने स्थानीयको स्वास्थ्य र उक्त स्थानको सौन्र्दयमा असर पर्नुको साथै जलचरलाई ठुलो असर पर्न जाने कुरालाई मध्यनजर गरेर बृहत सरसफाई कार्यक्रम शुरुवात गरेको स्थानीयहरुले बताए ।
सरसफाई कार्यक्रममा रौनक थप्नको लागि धेरै फोहर संकलन गर्ने दुई टोलीलाई प्रथम र द्धितिय घोषणा गरिएको थियो । उक्त सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी मनकामना गण भानु र ग्रीन आमीलाई क्रःमश १० हजार र ५ हजार पुरस्कार स्वरुप दिएको डुम्रे साँस्कृतिक यूवा परिवारका उपाध्यक्ष शम्भु श्रेष्ठले बताए ।
सामाजिक अभियान्ता मोहम्मद गफारको नेतृत्वमा स्थानीय सामाजिक संघ संस्था, आमा समुह,टोल विकास संस्था,नेपाल आर्मी,नेपाल प्रहरी,सशस्त्र प्रहरी,ग्रीन आर्मी,विभिन्न विद्यालय गरि ३२ टोलीको सहभागितामा रहेको थियो ।
उक्त बृहत सरसफाई कार्यक्रममा बन्दिपुर गाउँपालिका र भानु नगरपालिकाको प्रमुख र उपप्रमुखको समेत सहभागिता रहेको थियो । उनीहरुले यस्ता कार्यक्रम आफुहरुले पनि पटकपटक संचालन गरिरहेको बताउदै कार्यक्रमले सामाजिक एकता बढाउनुका साथै जनचेतनामा वृद्धि गर्ने बताए ।