आजदेखि पोखरा बक्सिङ च्याम्पियनसिप

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा आजदेखि ‘पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सञ्चालन हुन लागेको छ । खेलको सम्पूर्ण तयारी पुरा भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार पूर्वान्ह ११ बजेदेखि सञ्चालन गरिने प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । जसमा १२ जना महिला तथा १८ पुरुष गरि ३० जनाको सहभागिता रहने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरामा पहिलो पटक हुन लागेको भर्सेस फाइटयुक्त राष्ट्रिय च्याम्पियनसिपमा पुरुष तर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८० र ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । भने महिला तर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यता प्रतियोगितामा कास्कीबाटमात्रै ४ जना महिला तथा १२ जना बक्सरहरुले सहभागिता जनाउने श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेता बक्सरले नगद २० हजार र उपविजेताले नगद १० हजार ,प्रमाणपत्र र पदक प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट बक्सर महिला तथा पुरुषले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

पोखरामा २०६४ सालपछि हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताले यसको क्रेजलाई माथि उठाउन सघाउ पुग्ने प्रदेश बक्सिङ संघ गण्डकीका अध्यक्ष विद्या प्रसाद मर्सानीले बताए । उनका अनुसार राष्ट्रियस्तरको च्याम्पियनसिप पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना हुन लागेको हो ।

प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च लाग्ने अयोजकले अनुमान गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्