आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल गुमाएको छ । नेदरल्याण्डले ६ विकेटले नेपाललाई हराएको हो ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा मंगलबारको खेलमा डच टिमले १८.४ ओभरमा १०७ रनको लक्ष्य पूरा गरेको हो । जितका लागि म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । नटआउट रहँदै उनले ४८ बलमा ५४ रनको योगदान दिएका हुन् । विक्रमजित सिंहले २२, सिब्रांडले १४, बास डि लिडेले ११ रन बनाए । नेपाललाई सस्तैमा समेट्न डच टोलीतर्फबाट टिम प्रिन्गल र लोगन भान बिकले समान ३–३ विकेट लिए । पाउल भान मिर्केन र बास डि लिडेले समान २–२ विकेट झारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन जोड्न सके । उनीसहित ४ खेलाडीले मात्र दोहोरो अंकको रन बनाएका हुन् । करण केसीले १२ बलमा १७ रनको योगदान दिए । उनले २ छक्का हाने । गुल्सन झाले १५ बलमा १४ रन जोड्दा १ छक्का हानेका थिए । अनिल शाहले १२ बलमा २ चौका मद्दतमा ११ रन बनाए ।

निकै आशावादी सोमपाल कामी शून्य रनमै आउट हुन पुगे । उनी टि २० विश्वकममा दोस्रो पल्ट भाग लिने एकमात्र खेलाडी हुन् ।

नेपालले १० वर्षपछि आइसिसी टी–२० विश्वकप क्रिकेट खेलेपछि विश्वभरका नेपालीले निकै महत्वका साथ लिएका छन् । अमेरिकी रंगशालामा नेपाली दर्शकको बाहुल्यता रहेको बताइएको छ ।

यता, नेपालमा पनि प्रमुख सहरमा बिग स्क्रीनमा क्रिकेट हेर्ने व्यवस्था मिलाइएको थियो । नेपाली समय अनुसार राति खेल भए पनि पोखरेली दर्शकको क्रेज यति थियो कि उनीहरु सडकमा बसेर खेल हेरेको पाइन्थ्यो । पोखरा पृथ्वीचोक र हल्लनचोकमा खेल देखाउन पोखरा महानगरपालिकाले समन्वय गरेको छ ।

विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’ मा छन् । नेपालको समूहमा टेस्ट मान्यताप्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौंमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले युएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् ।

त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने २ टोलीले जनही ७ लाख ८७ हजार डलर पाउने छन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्