आज राष्ट्रिय धान दिवस,पोखरा २५ हेमजामा चौंंथो हेमजा हिले महोत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

वि।सं। २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

राष्ट्रिय धान दिवसको अवसरमा पोखरामा २५ मा रहेको देवीस्थान सेवा समाज हेमजाले आज चौंथो हिले महोत्सवको आयोजना गरेको छ ।
विहान १० वजेदेखि शुरु हुने महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैंटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् ।

प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।

महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले बताए ।

‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ । जसमा ख्याति प्राप्त कलाकारले प्रस्तुति समेत राख्नेछन् । महोत्सव सञ्चालनका लागि करिव रु.७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्