पोखरा । आयोजक सहारा क्लबले गत माघमा भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट १५ लाखभन्दा बढी घाटा बेहोरेको छ ।
सहाराले बिहीबार पत्रकार सम्मेलन गर्दै आहा राराको २३औं संस्करणबाट १५ लाख ५६ हजार ६ सय ६५ रुपैयाँ घाटा भएको जनाएको दिएको छ । २३ औं संस्करणमा आहा रारा पोखरा गोल्डकप फुटबल गत माघ ९ देखि २० गतेसम्म भएको थियो ।
उक्त प्रतियोगितामा ९९ लाख ८५ हजार ४५१ रुपैयाँ आम्दानी र एक करोड १५ लाख ४२ हजार १ सय १७ रुपैयाँ खर्च भएको प्रतियोगिताको आर्थिक संकलन उपसमिति संयोजक सुनिल गुरुङले बताए । क्लबले २२ औं संस्करण आहा रारा गोल्डकपबाट ३ लाख १८ हजार रुपैयाँ बचत गरेको थियो ।
हिम श्री फुड्स प्रा•लि• ले रु २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले रु १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले रु पाँच लाखलगायत गरी १४ सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेका थिए ।
टिकट शुल्कबाट रु २६ लाख ३६ हजार छ सय १३ सङ्कलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार चार सय ५७ खर्च भएको अर्थ सङ्कलन उपसमितिका संयोजक गुरुङले बताउनुभयो ।
प्रोत्साहन खर्चबापत रु १९ लाख ६२ हजार, आयोजक खर्च रु ११ लाख ५७ हजार र आयोजक टिम तयारी खर्च रु पाँच लाख ६३ हजार सात सय ४० भएको क्लबले जनाएको छ । विभिन्न १८ शिर्षकमा उक्त रकम खर्च भएको हो ।
देश व्यापी रुपमा देखा परेको आर्थिक मन्दी र रास्ट्रिय फुटबल खेलाडीहरुको विदेश पलायनले नेपालको रास्ट्रिय फुटबलको रौनक घट्दै गएको कारण प्रतियोगिता संचालनमा निकै चुनौती रहेको सहाराका महासचिव रामजी अधिकारीले बताए।
२३ औं संस्करणको आहा राराको उपाधि त्रिभुवन आर्मी क्लबले जित्दा उपविजेता थ्री स्टार क्लब भएको थियो । क्लबले विगत २४ वर्षदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ ।










