पोखरा । पोखरा बृद्धाश्रमद्वारा सञ्चालित “ऋषिलिला पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा बिशेष योगदान दिनु हुने कस्कीका ज्येष्ठ नागरिकहरु र सम्मानित हुन लाग्नु भएका पत्रकार पौडेललाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ असौज १५ गते एक समारोहमा सम्मान गरिने भएको हो ।
पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउनु भएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रम, सीतापाईलाका संस्थापक अध्यक्ष स्वर्गिय ऋषिकेशव पराजुली र उहाँका धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा उहाँका छोरा कुसुमकेशव पराजुलीद्वारा स्थापित उक्त पुरस्कार राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख समेत रहनुुभएका पौडेललाई प्रदान गर्न लागिएको छ ।
पुरस्कारका लागि व्यक्तित्व छनौट गर्न अग्रज पत्रकार रविन्द्र वास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पुर्व वडासदस्य पार्वती थापा एवम् पदेन सदस्यमा बृद्धाश्रमका अध्यक्ष कुुसुमकेशव पराजुुली र सचिव धर्मबहादुर गुरुङ रहनुुभएको थियो । उक्त समितिको सिफारिसलाई पोखरा बृद्धाश्रम सञ्चालक समितिको बैठकले अनुुमोदन गरेको बृद्धाश्रमका सचिव धर्म बहादुर गुरुङ्गले जानकारी दिनुुभयो ।
पत्रकारिताका माध्यमबाट पोखरा बृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई बृद्धाश्रमले सम्मान गर्दै आएको कुरा पोखरा बृद्धाश्रमका कोषाध्यक्ष भीम प्रसाद सुबेदीले बताउनु भएको छ । कोषाध्यक्ष सुबेदीका अनुसार पत्रकार बासुदेव पौडेललाई ५० हजार रुपैयाँ नगद प्रदान सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिने जानकारी दिनुुभयो ।
राष्ट्रिय समाचार समितिबाट दुुई पटक वर्ष उत्कृष्ट आलेख पुरस्कार प्राप्त गर्नुुभएका पौडेलले पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुर्याएबापत दहचोक एकता सम्मान, चन्द्रागिरी पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गर्नुुभएको थियो । उहाँ पर्यटन सम्बद्ध एनटिभिए, एगा, टेवान लगायत संघसंस्था, एग्रो टुरिज्म सहकारी, सिलिङ्गे महिला चेतना समूह, मिलनसार सहकारी लगायतबाट पुरस्कृत तथा सम्मानित बनिसक्नुुभएको छ ।
बि.सं.२०६३ सालदेखि राससमा आवद्ध पौडेल त्यस अघि जनमन्थन साप्ताहिकमा स्तम्भ लेखनका साथै कीर्तिपुरबाट प्रकाशित इभिनिङ टाइम्स साप्ताहिकमा सह सम्पादक, स्वर्णिम सन्देश साप्ताहिकमा सम्पादकको जिम्मेवारी सम्हाल्नुु भएको थियो ।
२०५३ सालमा स्थापना भई असहाय एवम् विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको बृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक १० जना अपाङ्गता भएका ब्यक्तिहरु एवम स्याहारकर्ताले आश्रय लिदै आउनुुभएको छ।
यस्का अतिरिक्त गण्डकी प्रदेशको ज्येष्ठ नागरिकका क्षेत्रमा अगुवा संस्था भएको नाताले आश्रमले बिशेष गरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियो थेरापिसेवा प्रदान गर्दै आएको छ ।