पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुनर्ताजगी कार्यक्रम सफलतापूर्वक समापन भएको छ। उक्त कार्यक्रम गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन अवसरमा बोल्दै माननीय भण्डारीले योगलाई जीवनका सबै पक्षसँग जोडेर हेर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। उनले भने, “योग भनेको आफैंमा अनन्त सुख, शान्ति र ज्ञानको अनुभव गर्नु हो।” साथै उनले योग साधनाले जीवनलाई बुझ्न, मन र चित्तलाई निर्मल बनाउन मद्दत पुर्याउने बताएका छन्। उनले यस संसारका सबै कुरा नाशवान र क्षणिक भएकाले शुद्ध धर्मको अभ्यास गर्ने व्यक्ति माथि कुनै असर नगर्ने पनि उल्लेख गरे।
कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष कमला गुरुङ, केन्द्रिय सदस्य रश्मि भण्डारी, प्रदेश कोषाध्यक्ष सपना गुरुङ, कास्की जिल्ला सचिव मुक्ति पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, र प्रशिक्षार्थीको तर्फबाट सुनिता भण्डारी र सरिता पहारीले योगका विभिन्न लाभ र अनुभवहरू साझा गरे।
यस अवसरमा पातञ्जल योग समितिका केन्द्रिय सदस्य दिपक भण्डारीलाई गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्यमा मनोनित हुनुको अवसरमा सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो। साथै, १५ दिनसम्म तालिम प्रदान गरेकी योग प्रशिक्षक कमला गुरुङलाई पनि सम्मान पत्र र दोसल्लाले सम्मानित गरिएको थियो।
यो तालिममा गण्डकी प्रदेशका सातवटा साधना केन्द्रका २४ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए। तालिमको अवधि १५ दिन, अर्थात् कार्तिक १५ देखि मंसीर २ गतेसम्म सञ्चालन भएको थियो। समापन कार्यक्रममा प्रमुख अतिथिले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रमको अध्यक्षता पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश कार्यवाहक अध्यक्ष र तालिम संयोजक बिश्वकुमार प्रधानले गरेका थिए। जिल्ला उपाध्यक्ष संगिता पराजुलीले स्वागत मन्तव्य प्रस्तुत गरे भने प्रदेश सदस्य नवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए।