पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा गरिएको सवारी साधन चेकजाँचमा २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिइएको छ। मिति २०८१।०८।०१ गतेदेखि ७ गतेसम्म गरिएको यो चेकजाँचमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले प्रारम्भिक कार्यवाही गर्दै, चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने २३ वटा मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको छ। उक्त कारवाहीबाट यस्ता सवारी साधनको प्रभावलाई नियन्त्रण गर्ने उद्देश्य रहेको छ । जसले नागरिकको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पुर्याउने गर्दछ।
प्रहरीका अधिकारीहरुले नागरिकलाई आह्वान गरेका छन् कि, यदि कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने मोटरसाइकल चलाइरहेको देखेमा तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीको १०० नम्बर र जिल्ला ट्राफिक कार्यालयको १०३ नम्बरमा सूचना दिन अनुरोध गरिएको छ।
यसरी मोटरसाइकलको स्वरुप परिवर्तन र चर्को आवाजमा सवारी सञ्चालनले वातावरणीय समस्यासँगै, सडक सुरक्षा र सार्वजनिक शान्तिका लागि ठूलो खतरा निम्त्याउन सक्छ। सवारी साधन सञ्चालन गर्दा कानूनी दायरामा रहन र वातावरणलाई सम्मान गर्न सबैले ध्यान दिन आवश्यक छ।