छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानज्योति बोर्डिङलाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लाहाचोकस्थित ज्ञानज्योति बोर्डिङ स्कूलले जितेको छ। माछापुच्छ्रे गाउँपालिका क्षेत्रका १२ विद्यालयहरूको सहभागितामा भएको यो माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा ज्ञानज्योति बोर्डिङले ५ स्वर्ण, २ रजत, र १ कास्य जितेर पहिलो स्थान हासिल गरेको हो। यससँगै विद्यालयले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ।

यस प्रतियोगितामा माछापुच्छ्रे माध्यमिक विद्यालयले ५ स्वर्ण, १ रजत र ३ कास्य जितेर दोस्रो स्थान हासिल गरेको छ। बराह माध्यमिक विद्यालयले ४ स्वर्ण, ७ रजत र २ कास्य जितेर तेस्रो स्थान हासिल गरेको छ। दोस्रो र तेस्रो स्थानमा रहेका विद्यालयहरूले क्रमशः १० हजार र ७ हजार ५ सय रुपैयाँ नगद र ट्रफी पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा अन्तरविद्यालय भलिबल, कबड्डी, एथलेटिक्सका विभिन्न दौडहरू (१००, २००, ४००, ८००, १५००, ३००० मीटर), छात्रा/छात्रा ४ × १०० मि. रिले, ४ × ४०० मि. रिले, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगायतका विभिन्न खेलकुदका प्रतिस्पर्धाहरू सम्पन्न भएका थिए।

प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम ब. गुरुङको निर्देशनमा सञ्चालन गरिएको थियो।

उक्त प्रतियोगिता मंसिर ६ देखि ८ गतेसम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा सम्पन्न भएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको यस प्रतियोगितामा विद्यालयस्तरीय खेलकुद प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।

गाउँपालिका अध्यक्ष मिन ब. गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक साहायक विष्णु प्र. अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्