पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधिहरुले पोखरा रंगशालास्थित क्रिकेट मैदानको निरीक्षण गरेका छन्। सन् २०२७ मा नेपाल र बंगलादेशले सहआयोजकको रूपमा आयोजना गर्ने यू–१९ महिला क्रिकेट विश्वकपको तयारीका लागि आइसिसी टोलीले पोखरा क्रिकेट मैदानको अवलोकन गरेको हो।
आइसिसीको टोलीमा रहेका सिनियर म्यानेजर रोहित पोदारले पत्रकार सम्मेलनमा क्रिकेट मैदानको पिचको अवस्था राम्रो रहेको भएपनि अन्य पूर्वाधारको सुधार र निर्माण आवश्यक रहेको बताए। उनले भने, “मैदानको पिच तयारी भएको छ, तर विश्वकपको मानक अनुसार अन्य पूर्वाधार, जस्तै– सुरक्षा, दर्शक क्षेत्र र तालिका व्यवस्थापनका लागि थप काम गर्नु पर्नेछ।”
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पोखरा रन्शगालामा महिला यु–१९ विश्वकपको लागि तयारी गरिरहेको अवस्थामा सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणका लागि प्रतिबद्धता प्राप्त भएको जानकारी दिए। उनले भने, “स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर न्यूनतम आवश्यक पूर्वाधार निर्माण गर्न हामीले पहल गरेका छौँ।“
आइसिसीका प्रतिनिधिहरुले १३ औं सागको दौरान पोखरा क्रिकेट मैदानमा भएका महिला क्रिकेट खेलहरूको बारेमा पनि चर्चा गरे। उनीहरूले सोधेका थिए कि १३ औं सागपछि अबसम्म क्रिकेट मैदानको अवस्थालाई अझ सुधार गर्नका लागि थप काम किन गरिएको छैन।
सन् २०२७ मा नेपाल र बंगलादेश संयुक्त रूपमा यू–१९ महिला विश्वकपको आयोजनाको अवसर पाएका छन्। पोखरा क्रिकेट मैदान यस प्रतियोगिताका प्रमुख स्थलहरूमध्ये एक हुनेछ, र यसलाई विश्वकपका मापदण्डअनुसार तयारी गर्न आवश्यक छ।