पोखरा । काठमाण्डौ विश्वविद्यालयका विद्यार्थीहरूको संस्था ‘एसोसिएशन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स’ले आगामी मंसीर १३ मा ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टू–कार्ट्स’को तयारी पुरा गरेको छ। यो कार्यक्रम काठमाण्डौ विश्वविद्यालयको वार्षिक फ्लागशिप कार्यक्रम ‘इनोभेटिभ अभियान अभियान्ता २४’को एक भाग हो, जुन नेपाल अटोमोबाइल्स एसोसिएशनको सहयोगमा राष्ट्रिय स्तरमा आयोजना हुँदैछ।
कार्यक्रमको मुख्य आकर्षण धुलिखेलको हिमालयन मोटरल्याण्डमा हुने गो–कार्ट प्रतिस्पर्धा हुनेछ, जहाँ नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका सात वटा टिमहरू आफ्नो डिजाईन र दक्षता प्रस्तुत गर्ने छन्। यस प्रतियोगितामा ४९ विद्यार्थीहरूको सहभागिता रहने छ, र प्रत्येक कलेजले आफ्नो टिमका सदस्यसँग प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूलाई कार्ट्सको डिजाईन, सुरक्षा विधि, नियमहरूको बारेमा प्रशिक्षण र ओरियेन्टेशन दिइने छ। विशेष रूपमा, महिला ड्राइभरका लागि छुट्टै प्रशिक्षण पनि उपलब्ध गराइने छ। यस कार्यक्रमले आगामी ‘माउण्ट एभरेस्ट मोटरस्पोर्ट्स फेस्टिभल २०२४’ मा सहभागिताको अवसर पनि प्रदान गर्नेछ।
बिजयी उत्कृस्ट खेलाडीले श्रीलंकामा हुने ‘एसिया प्यासिफिक मोटो स्पोर्ट च्याम्पियनशिप’मा नासा नेपालको तर्फबाट सहभागिता जनाउन पाउने छन्। यो प्रतिस्पर्धाले विद्यार्थीहरूलाई आफ्ना सीप, डिजाइन र सृजनात्मकता प्रदर्शन गर्ने अवसर दिन्छ।
सानी, हाईड्रोपावर, डब्लू डि एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित यस इभेन्टमा कुल नगद एक लाख पुरस्कार राशी राखिएको छ। काठमाण्डौ विश्वविद्यालयका सचिव स्वीकार कोइरालाले यस इभेन्टलाई नेपालका लागि नयाँ चुनौती र अवसरको रूपमा हेरिरहेका छन् र विश्वास व्यक्त गरेका छन् कि यसले नेपाली मोटो स्पोर्ट्सलाई नयाँ उचाइमा पुर्याउनेछ।
यो प्रतिस्पर्धा नेपालका विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरूको उत्साह र सक्रियताले नेपालमा मोटो स्पोर्ट्सको नयाँ युगको सुरुवात गर्नेछ।