 
                                     
								पोखरा । एन प्याव्सन कास्कीले आयोजना गरेको १४ औं एन प्याव्सन खेलकुद महोत्सव पोखरामा धमाधम जारी छ। ४६ विद्यालयका करिब ८ हजार ५ सय खेलाडी विद्यार्थीले विभिन्न ९ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। महोत्सव अन्तर्गत फुटबल, बास्केटबल, क्रिकेट, टेबल टेनिस, भलिबल, एथलेटिक्सलगायतका खेलहरू सञ्चालन भइरहेको छ।
आइतबार फुटबलतर्फ छात्रतर्फ गण्डकी एकेडेमीले विरेन्द्र मेमोरियल बोर्डिङलाई ४–१ गोलले पराजित गर्दा, फेवा बोर्डिङ स्कुलले कान्तिपुर एकेडेमीलाई १–० ले हरायो। पुष्पसदन एकेडेमी र एलपी देवकोटा मेमोरियल स्कुलले टाइबेकरमार्फत क्रमशः ४–३ र ५–४ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरे। छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेका अनुसार सोमबार फाइनल खेल दिउँसो २ बजे हुनेछ।
छात्रा फुटबलमा पनि रोमाञ्चक खेल देखियो। लिटल फ्लावर एजुकेशन एकेडेमीले लेवन रेसिडेन्सियल स्कुललाई २–० ले हरायो भने सनराइज प्रिप्याराटोरी स्कुलले गण्डकी एकेडेमीलाई १–० ले पराजित गर्यो। अन्य खेलमा हेम्जा बोर्डिङ स्कुलले नेशनल क्रियशन एकेडेमीलाई ७–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गर्यो।
बास्केटबलतर्फ कास्की मोडनाइज्ड एकेडेमीले साइनिङ स्टार बोर्डिङलाई ३४–१८ ले हरायो भने सिद्धार्थ लभडेलले हेम्जा बोर्डिङलाई ६–४ को संघर्षपूर्ण खेलमा पराजित गर्यो। दश जोड दुईतर्फ कास्की मोडनाइज्डले साइनिङ स्टारलाई ३९–२० को फराकिलो अन्तरले हरायो।
क्रिकेट खेलमा चिल्ड्रेन एकेडेमीले न्यू ग्यालेक्सीलाई ६ विकेटले हरायो। लिटल फ्लावरले मर्निङ ग्लोरीलाई ४४ रनले पराजित गर्यो भने कास्की मोडनाइज्डले हेम्जा बोर्डिङलाई ५ विकेटले हरायो। सोमबार सेमिफाइनल र फाइनल खेल एकैदिन सम्पन्न हुनेछन्।
चार दिनसम्म चल्ने महोत्सवमा करिब ९ सय २९ विद्यार्थी पुरस्कृत हुनेछन्। २ सय ५१ स्वर्ण, २ सय ५१ रजत, र ४ सय २७ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ। शिक्षक-शिक्षिका, छात्र-छात्रा ५ किलोमिटर सडक दौडदेखि फुटसलसम्मका विभिन्न खेलमा सहभागी छन्।
मंसिर २५ गते पोखरा रङ्गशालामा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीद्वारा महोत्सवको औपचारिक उद्घाटन गरिने छ। आयोजकका अध्यक्षका अनुसार महोत्सवको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक तथा मानसिक विकास गर्दै खेलकुदप्रतिको रुचि बढाउनु हो।
 
                    










 
				                                
							 
							 
							 
        