छोम्रोङमा ‘२३ औं सेन्चुरी ल्होसार मेला’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा यही पौष ११ देखि १४ गतेसम्म ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना हुँदैछ। तमु समुदायको प्रमुख पर्व ल्होसारको अवसरमा सेन्चुरी युवा क्लबले मेला सञ्चालन गर्न लागेको हो।

क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङका अनुसार मेलाको मुख्य उद्देश्य संस्कृति संरक्षण, खेलकुदको प्रवर्द्धन र पर्यटन विकास गर्नु हो। उनले भने, “यस मेलाले खेलकुदको विकाससँगै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरेका छौं।”

मेलामा पुरुष भलिबल र बास्केटबल प्रतियोगितालाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिनेछ। दुवै प्रतियोगितामा विजेताले ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन्। सहभागिताका लागि टिमले ५ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।

खेलकुद प्रतियोगिताका साथै मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। आयोजकका अनुसार यी कार्यक्रमले मेलालाई थप आकर्षक बनाउनुका साथै स्थानीय परम्परागत सांस्कृतिक पहिचानलाई उजागर गर्नेछन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्