
पोखरा । देशको कृषि र पशु चिकित्सा क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्दै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट)को २४औं साधारणसभा शनिबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक दोजराज खनालले हिकास्टको भूमिकाको प्रशंसा गर्दै कृषि तथा पशु विज्ञान क्षेत्रमा समयसापेक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानलाई महत्त्वपूर्ण बताएका छन्। उनले भने, “हिकास्टले उत्पादन गरेको जनशक्ति उपयोगमा नार्कले सधैं सहकार्य गर्दै काम गर्न तयार छ।”
त्यस्तै, विशेष अतिथि पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले हिकास्टले कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने आधार तयार गरेको बताए। उनले संस्थालाई थप जनशक्ति उत्पादनमा निरन्तर लाग्न आग्रह गर्दै पशु चिकित्सा र कृषिमा हिकास्टले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे।
कार्यक्रममा भेटेनरी काउन्सिलका अध्यक्ष ब्रज किशोरप्रताप शाहले पनि हिकास्टले २५ वर्षको अवधिमा पुर्याएको योगदानलाई प्रशंसनीय भन्दै, “कृषि र पशु विज्ञान अध्यापनको क्षेत्रमा संस्थाले गरेको काम उच्च महत्वको छ,” भने।
हिकास्टका अध्यक्ष विनायक प्रसाद राजभण्डारीले कलेजले राज्यका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेको भए पनि राज्यको उपयुक्त कदर नपाएकोमा गुनासो गरे। “हामीले राज्यका लागि जे-जति योगदान दिएका छौं, त्यसको कदर राज्यले गर्नुपर्ने हो। तर, यो क्षेत्रमा अझै ध्यान दिन आवश्यक छ,” उनले भने।
साधारणसभाले संस्थाको आगामी योजनाहरूलाई थप प्रभावकारी बनाउन सहकार्य र समन्वयको निरन्तरतामा जोड दिएको छ।
कार्यक्रमका क्रममा कृषि तथा पशु चिकित्सा क्षेत्रमा २० वर्षभन्दा बढी अध्यापन गराएका प्राध्यापकहरूलाई सम्मान गरिएको थियो। कानूनी प्रतिनिधि सन्तोष भट्टराईले सञ्चालन गरेको कार्यक्रमले हिकास्टको आगामी कार्ययोजनालाई प्रभावकारी बनाउन सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जाहेर गरेको छ।