पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन्। जयराम श्रेष्ठलाई तीन स्ट्रोकले पछि पार्दै समग्रमा १-अन्डर २०६ स्कोर गरेका निरजले पोखरामा पहिलो पटक उपाधि उचाल्न सफल भएका हुन्। अन्तिम दिन ४-ओभर ७३ को प्रदर्शन गरे पनि उनले उपाधिसहित १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
यो निरजको करियरको तेस्रो उपाधि हो। उनले यसअघि गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन तथा जारी सिजनमा सूर्य नेपाल ईस्टर्न ओपन जितेका थिए। इभन-पार ६९ को कार्ड बनाएका जयराम श्रेष्ठले समग्रमा २-ओभर २०९ स्कोर गर्दै दोस्रो स्थान हासिल गरे। उनले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
समग्रमा ३-ओभर २१० को स्कोर गर्दै भुवन कुमार रोक्काले तेस्रो स्थानमा चित्त बुझाए। आज उनले ७-ओभर ७६ स्कोर गरे र ७५ हजार रुपैयाँ पुरस्कार हात पारे। नेपाल नम्बर एक प्रो गल्फर भुवन नगरकोटीले आज २-अन्डर ६७ को उत्कृष्ट स्कोर बनाए। समग्रमा ४-ओभर २११ सहित चौथो स्थानमा रहँदा उनले ६३ हजार रुपैयाँ जिते।
५-ओभर २१४ को स्कोर गर्दै सञ्जय लामा, धन थापा, विष्णु प्रसाद शर्मा र रामे मगर पाँचौं स्थानमा रहे। सञ्जय र धनले आज ७-ओभर ७६ स्कोर गरे भने विष्णु र रामेले ४-ओभर ७२ स्कोर निकाले। उनीहरूले जनही ४४ हजार ७५० रुपैयाँ नगद प्राप्त गरे।
१०-ओभर २१७ स्कोर गर्दै कृष्णमान राजबहाक र तोरण विक्रम शाही संयुक्त दशौं स्थानमा रहे। कृष्णले ६-ओभर ७५ र तोरणले ४-ओभर ७३ स्कोर गरे। दुवैले ३३ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
एमेच्योरतर्फ सुरेश तामाङले उपाधि जित्दै ९-ओभर २१६ को समग्र स्कोर बनाए। उनले सुमन परियारलाई दुई स्ट्रोकले पछि पार्दै पहिलो स्थान हासिल गरे। सुमनले समग्रमा ११-ओभर २१८ स्कोर गरे र दोस्रो स्थानमा रहे। दोस्रो दिनका लिडर सुन्दर राईले आज कमजोर प्रदर्शन गर्दै ९-ओभर ७८ स्कोर गरे र तेस्रो स्थानमा झरे।
अन्तिम दिनको खेलमा निरजले सुरूवातमा केही कठिनाइ भोगे। पाँचौं देखि सातौं होलमा बोगी खेपेका उनले फ्रन्ट नाइन ३-ओभर ३७ मा सके। ब्याक नाइनमा १०औं होलमा बर्डी प्रहार गरे पनि ११औं र १८औं होलमा एक-एक सट खेर फाले।
जयराम श्रेष्ठले खेलको सुरूवातमै चुनौती झेल्नुपर्यो। पहिलो होलमा ट्रीपल बोगी गरेपछि उनले तेस्रो होलमा एक सट गुमाए। छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै उनले फ्रन्ट नाइन २-ओभर ३६ मा पूरा गरे। ब्याक नाइनमा भने उत्कृष्ट पुनरागमन गर्दै चार बर्डी र दुई बोगी प्रहार गरे।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट र कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवाराम गुरूङले पुरस्कार वितरण गरे।
तीन दिनसम्म चलेको ५४ होलको प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गरी कुल ५२ गल्फर सहभागी थिए। प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको थियो। भोलि प्रो-एम प्रतियोगिता हुने आयोजकले जनाएको छ।










