पोखरामा अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल सुरु, शिशु निकेतन र हिमालयनको शानदार प्रदर्शन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको ड्यामसाइड क्लबको आयोजनामा चौथो संस्करणको अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ आइतबारदेखि सुरु भएको छ।

पोखरा महानगरपालिका–१७ को प्रवर्द्धनमा आयोजना भएको यो प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेलमैदानमा सञ्चालन भइरहेको छ। उद्घाटन दिन दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्, जसमा शिशु निकेतन मावि र हिमालयन बोर्डिङ स्कुल ले शानदार जित निकालेका छन्।

प्रतियोगिताको पहिलो खेलमा शिशु निकेतन मावि ले पोखरा किन्डरगार्डेन मावि लाई टाईब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गर्यो। निर्धारित २५–२५ मिनेटको खेलमा दुबै टोलीले समान १–१ गोल गरेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो।

शिशु निकेतनका आद्धित्य बराल र पोखरा किन्डरगार्डेनका चिन बहादुर थापा ले खेलको नियमित समयमा समान एक–एक गोल गरेका थिए। टाईब्रेकरमा शिशु निकेतनका युनिक गुरुङ, आद्धित्य बराल, आविश्कार क्षेत्री, उत्तम सुनार र सक्षम ढकाल ले गोल गर्दा पोखरा किन्डरगार्डेनका तर्फबाट चिन बहादुर थापा, युजन गुरुङ र लोकेस बहादुर मगर ले मात्र गोल गर्न सके।

खेलको टाईब्रेकरमा पोखरा किन्डरगार्डेनका सफल थापाले प्रहार गरेको निर्णायक पेनाल्टी शिशु निकेतनका गोलरक्षक सक्षम ढकालले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई दोश्रो चरणमा पुर्‍याए। शानदार प्रदर्शन गरेका सक्षम ढकाल म्यान अफ दी म्याच घोषित भए।

त्यसैगरी, दोस्रो खेलमा हिमालयन बोर्डिङ स्कुल ले विद्या निकेत मावि लाई १–० को झिनो गोल अन्तरले हराउँदै विजयी सुरुआत गर्यो। हिमालयनको जितमा निर्णायक गोल बादल रानाले गरे, जसका कारण उनी खेलको म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगिताका संयोजक विनोद परियारका अनुसार सोमबार पहिलो चरणका चार खेल हुने कार्यक्रम रहेको छ। प्रतियोगिता यही माघ २६ गतेसम्म सञ्चालन हुने छ, जसको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १७ की वडा अध्यक्ष राधिका कुमारी शाहीले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यालयस्तरबाट फुटबलको विकास गर्ने उद्देश्यले क्लबले निरन्तर प्रतियोगिता आयोजना गरिरहेको उल्लेख गर्नुभयो।

ड्यामसाइड क्लबका अध्यक्ष रमेश प्रसाद बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह मा वडा नम्बर १७ का वडा सचिव सुरेन्द्रराज शर्मा, वडा सदस्य एवं खेल समिति संयोजक बिक्रम गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक गोदार, क्लबका सचिव प्रमेन्द्र थापा र सदस्य सन्ध्या श्रेष्ठ लगायतले खेलको महत्वबारे धारणा राखेका थिए।

यस वर्षको प्रतियोगितामा १९ वटा विद्यालयको सहभागिता रहेको क्लबका निवर्तमान अध्यक्ष प्रताव गुरुङले जानकारी दिनुभयो। ७ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेस्रो स्थान हासिल गर्ने टिमले १० हजार र चौथो स्थान प्राप्त गर्ने टिमले ५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, हरेक खेलमा “म्यान अफ दी म्याच” घोषित खेलाडीलाई ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा सर्वोत्तम खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रदान गरिने क्लबका महासचिव राकेश श्रेष्ठले बताउनुभयो।

साथै, सबैभन्दा अनुशासित टिम र उदीयमान खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने छ। गत वर्षको विजेता शान्ति निकुन्ज बोर्डिङ स्कुल रहेको थियो। क्लबका पूर्व अध्यक्ष पदम ढकालका अनुसार ड्यामसाइड क्लब २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ।

क्लबले विश्वमै चर्चित फुटबल खेलको ग्रासरुट तहबाट विकास गर्ने उद्देश्यसहित पछिल्ला तीन वर्षदेखि यो प्रतियोगिता आयोजना गरिरहेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्