
पोखरा । चौथो संस्करणको अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ पोखरामा जारी रहेको छ, जहाँ डिफेन्डिङ च्याम्पियन शान्ति निकुञ्ज बोर्डिङ स्कुलले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा शान्ति निकुञ्जले गुप्तेश्वर वेद विज्ञान पाठशालालाई ७–० को फराकिलो अन्तरले पराजित गर्यो।
शान्ति निकुञ्जका लागि म्यान अफ द म्याच घोषित इन्द्र बहादुर बी.के.ले ह्याट्रिक पूरा गरे भने टानसेन जुग्जालीले दुई तथा सवनिल अधिकारीले एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको गुप्तेश्वर वेद विज्ञानले आत्मघाती गोल गर्दै शान्ति निकुञ्जलाई एक गोल उपहार दिएको थियो। उत्कृष्ट प्रदर्शनका लागि गुप्तेश्वर वेद विज्ञानका हेमराज कंडेललाई प्रोत्साहनस्वरूप ट्रफी प्रदान गरिएको थियो।
सोमबार भएको अर्को प्रतिस्पर्धात्मक खेलमा एल.पी. देवकोटा मेमोरियलले छोरेपाटन माविलाई सडेन डेथमा ६–५ को गोल अन्तरले पराजित गर्यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो, जहाँ दुवै टोलीले ३–३ गोल गरे।
अन्ततः सडेन डेथमा छोरेपाटनका अरुण लिम्बुले पेनाल्टी गुमाउँदा एलपीका सफल रेग्मीले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाए। एलपीका प्रिन्स गुरुङ म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा श्री जानकी माविले बालोदय बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–२ को अन्तरले पराजित गर्यो। निर्धारित २५–२५ मिनेटको खेलमा गोलरहित बराबरी भएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। श्री जानकीका गोलरक्षक प्रवेश श्रेष्ठ उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए। ट्रफी वितरण कार्यक्रममा क्लबका पूर्व खेलाडी एवं हाल अमेरिकामा बसोबास गरिरहेका कुमार शेरचन, अध्यक्ष रमेश प्रसाद बराललगायतले पुरस्कार वितरण गरे।
यस्तै, तेस्रो खेलमा ओम एकेडेमीले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्यो। एक्स आर्मी पब्लिक स्कुलले प्रतियोगितामा सहभागिता नजनाउँदै वाकओभर दिएको कारण ओम एकेडेमी अघिल्लो चरणमा स्वतः प्रवेश गर्यो।
प्रतियोगिता संयोजक विनोद परियारका अनुसार मंगलबार पहिलो चरणका चार खेल सञ्चालन हुनेछन्। पोखराको ड्याम साइड क्लबको आयोजनामा भइरहेको यस प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको छ।
क्लबका अध्यक्ष रमेश प्रसाद बरालका अनुसार माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार, उपविजेताले २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले १० हजार तथा सान्त्वना स्थान हासिल गर्ने टिमले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।