पोखरामा चौथो अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी , युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको ड्याम साइड क्लबको आयोजनामा जारी चौथो संस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१, ४ खेलसँगै अत्यन्तै रोमाञ्चक मोडमा पुगेको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १७ को सहयोगमा आयोजना गरिएको हो, जहाँ १९ वटा विद्यालयका युवा फुटबल खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गरे।

मंगलबारको खेलमा फिस्टेल एकेडेमी, हिमालयन बोर्डिङ स्कुल, शिशु निकेतन र ढुंगेसाँघु बोर्डिङ स्कुलले जित हात पारेका छन्।

प्रतियोगिताको पहिलो खेलमा फिस्टेल एकेडेमीले न्यू मिलिनियम एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गर्यो। फिस्टेलका विश्वास रानाभाट, अन्श्रिक गुरुङ, अस्मित थापा र आकृत महतले गोल गरेका थिए, भने न्यू मिलिनियमका आसिस अर्यालले एक मात्र गोल गरे। खेलमा फिस्टेलका सुगम रानाभाटलाई म्यान अफ दी म्याचको अवार्ड दिइयो।

दोस्रो खेलमा हिमालयन बोर्डिङ स्कुलले शिशु कल्याण इंग्लिस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्यो। हिमालयनका संगम गुरुङले दुई र बादल रानाले एक गोल गरे, जबकि शिशु कल्याणका कृष्ण थापाले एक गोल गरे।

तेश्रो खेलमा शिशु निकेतनले वेष्ट पोइन्ट चिल्र्डेन एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गर्यो। शिशु निकेतनका यूनिक गुरुङ र सक्षम गुरुङले गोल गरे, जबकि वेष्ट पोइन्टका सुलभ अधिकारीले एक गोल गरे। सक्षम गुरुङलाई म्यान अफ दी म्याच घोषित गरियो।

अन्तिम खेलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले पार्दी माविलाई ३–० गोल अन्तरले पराजित गर्यो। ढुंगेसाँघुको जितमा अंकित सेवा, आरुस थापा र सुवास बि.क.ले एक–एक गोल गरे, जबकि म्यान अफ दी म्याच अवार्ड अंकित सेवाले प्राप्त गरे।

कार्यक्रमको अवसरोमा पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाही,होटल संघ पोखराका नि.अध्यक्ष विकल तुलाचन , ड्याम साइड क्लबका अध्यक्ष रमेश प्रसाद बराल लगायतका विशिष्ट व्यक्तित्वहरूले खेलाडीलाई म्यान अफ दी म्याच ट्रफी वितरण गरेका थिए।

ड्याम साइड क्लबका पूर्व अध्यक्ष पदम ढकालले क्लबले लामो समयदेखि फुटबलका राष्ट्रिय खेलाडीहरू उत्पादन गर्दै आएको र यो प्रतियोगिता प्रत्येक वर्ष उत्कृष्टता हासिल गर्दै आएको बताए। पोखरामा फुटबलको लोकप्रियता र क्लबका खेलाडीहरूको योगदानले आगामी दिनहरूमा थप उचाइ हासिल गर्ने आशा गरिएको छ।

यस प्रतियोगिताले पोखराका युवा फुटबल खेलाडीहरूलाई नयाँ अवसर र उत्साह प्रदान गरेको छ, जसले भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्ज्वल बनाउने क्षमता राख्दछन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्