अन्तरबिद्यालय वडा अध्यक्ष कप: जानकी मावि सेमिफाइनलमा, प्रतिस्पर्धा थप रोमाञ्चक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत बुधबारका खेलहरू सम्पन्न भएका छन्। पोखराको ड्यामसाइड क्लबको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेलमैदानमा भएका रोमाञ्चक प्रतिस्पर्धामा पोखरा स्पाइरल ग्यालेक्सी र श्री जानकी मावि विजयी बनेका छन्।

पहिलो खेलमा पोखरा स्पाइरल ग्यालेक्सीले ओम एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो। स्पाइरलका अनिल खाँड ले निर्णायक गोल गरे भने सृजन थापा क्षेत्री म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा श्री जानकी माविले शिशु निकेतन इङ्लिस स्कुललाई २-१ को झिनो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो। जानकीका लागि म्यान अफ द म्याच घोषित अभिषेक मल्लले दुई गोलको योगदान गरे भने शिशु निकेतनका रोसन गुरुङले एक गोल फर्काए।

प्रतियोगिताका संयोजक विनोद परियारका अनुसार भोलि (विहीबार) तीन वटा क्वार्टरफाइनल खेलहरू हुनेछन्। बिहान ८:३० बजे हिमालयन बोर्डिङ स्कुल र शान्ति निकुञ्ज बोर्डिङ स्कुल भिड्नेछन् भने बिहान ९:३० बजे ढुंगेसाघु बोर्डिङ स्कुल र फिस्टेल एकेडेमी आमनेसामने हुनेछन्। दिउँसो १:०० बजे एलपी देवकोटा बोर्डिङ स्कुल र पोखरा स्पाइरल ग्यालेक्सी बीच प्रतिस्पर्धा हुनेछ।

पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवर्द्धनमा सञ्चालन भइरहेको प्रतियोगिता माघ २६ गतेसम्म चल्ने आयोजक क्लबका अध्यक्ष रमेश प्रसाद बरालले जानकारी दिए।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्