
पोखरा । पोखरामा जारी चौथो संस्करणको अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ अन्तिम चरणतर्फ अघि बढेको छ। गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा भोलि (शुक्रबार) सेमिफाइनलका दुवै खेलहरू हुने भएका छन्। बिहान ८ः३० बजे जानकी मावि र एल.पी. देवकोटा भिड्नेछन् भने ९ः३० बजे ढुंगेसाँघु बोर्डिङ स्कुल र हिमालयन बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा हुनेछ।
क्वार्टरफाइनल चरणमा रोमाञ्चक खेलहरू देखिए। गत वर्षको विजेता शान्ति निकुन्ज बोर्डिङ स्कुललाई १-० ले पराजित गर्दै हिमालयन बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गर्यो।
निर्णायक गोल गरेका रितेस आले म्यान अफ द म्याच घोषित भए। त्यस्तै, ढुंगेसाँघु बोर्डिङ स्कुलले फिस्टेल एकेडेमीलाई ३-१ को अन्तरले पराजित गर्यो। ढुंगेसाँघुको जितमा अंकित गुरुङ, रोहन राना र सुवास वि.के. (म्यान अफ द म्याच) ले समान एक/एक गोल गरे भने फिस्टेलका विश्वास रानाभाटले एक मात्र गोल गर्न सके।
सबैभन्दा रोमाञ्चक खेल एल.पी. देवकोटा र पोखरा स्पाइरल ग्यालेक्सी एकेडेमी बीच भयो। निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
एल.पी. देवकोटाले टाइब्रेकरमा ४-३ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। निर्धारित समयमा एल.पी. देवकोटाका सौरभ मगरले दुई गोल गर्दै म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिता अवधिभर पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाही, एन्फा कास्कीका अध्यक्ष उज्वल रञ्जित, उपाध्यक्ष नरजंग गुरुङ, वडा सदस्य एवं खेल संयोजक विक्रम गुरुङ, वडा सदस्य तारा सेवा परियार, क्लबका निवर्तमान अध्यक्ष प्रताव गुरुङ लगायत विभिन्न खेलप्रेमी तथा अधिकारीहरूको उल्लेखनीय उपस्थिति रह्यो।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवर्द्धनमा सञ्चालन भइरहेको प्रतियोगिता माघ २६ गतेसम्म चल्नेछ। यसैबीच, एन्फा कास्कीले प्रतियोगिता आयोजना गरिरहेको क्लबलाई तीनवटा फुटबल सहयोगस्वरूप हस्तान्तरण गरेको छ। अब उपाधि यात्रा अझ रोमाञ्चक बन्दै गएको छ, जहाँ चार टोली फाइनल प्रवेशका लागि भिड्नेछन्।