
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९, सिधिङमा यही माघ ३० गतेदेखि सुरु हुने साविक वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८१ का लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। सिधिङ युनाइटेड क्लबको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको यो प्रतियोगिता फागुन ३ गतेसम्म सञ्चालन हुनेछ।
माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं. ९ का अध्यक्ष हरि ब. क्षेत्रीले प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्ने मात्र नभई खेलकुदको विकास, कला, संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा विजेताले नगद रु ८५,०००, दोस्रो स्थान प्राप्त गर्ने टोलीले रु ५०,०००, तेस्रो स्थान प्राप्त गर्नेले रु ३०,००० तथा सान्त्वना पुरस्कारस्वरूप रु २०,००० प्राप्त गर्नेछन्। साथै, विजेता टोलीहरूले ट्रफी, मेडल र प्रमाणपत्र समेत पाउनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई विशेष पुरस्कार प्रदान गरिने खेल संयोजक याम क्षेत्रीले जानकारी दिए। प्रतियोगिताको पुरुष भलिबलतर्फ दर्ता शुल्क रु ६,००० निर्धारण गरिएको छ।
त्यसैगरी, भेट्रान्स भलिबल प्रतियोगिताको विजेताले नगद रु ३०,००० तथा उपविजेताले रु २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भेट्रान्स प्रतियोगिताको दर्ता शुल्क रु ३,००० तोकिएको छ।
प्रतियोगितासँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रमहरू पनि रहनेछन्। प्रत्येक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको नृत्य, गायन र हास्यव्यङ्ग्य प्रस्तुति हुने आयोजकले जनाएको छ। साथै, आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रस्साकस्सी, घोडा दौडजस्ता विविध प्रतिस्पर्धाहरूले कार्यक्रमलाई अझ रोमाञ्चक बनाउनेछन्।
सिधिङ खेलकुद मैदानमा हुने यो प्रतिष्ठित प्रतियोगिताको उद्घाटन खेल माघ ३० गते बिहान ११:३० बजे हुने क्लबका सचिव प्रज्वल क्षेत्रीले जानकारी दिए।