
पोखरा । माछापुच्छ्रे गाउँपालिका–२, सिधिङमा आयोजित प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि ठकुरी समाजले जितेको छ। फाइनल खेलमा किम्चेलाई ३–१ को सेट अन्तरले पराजित गर्दै ठकुरी समाजले जित दर्ता गर्यो।
पहिलो र अन्तिम दुई सेट जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको ठकुरी समाजले किम्चे माथि (२५–१७, २३–२५, २५–१८, २८–२६) को जित निकाल्दै नगद रु ८५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
घान्द्रुकको किम्चेले उपविजेताको स्थानमा चित्त बुझाउँदै नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो। तृतीय स्थानको लागि भएको खेलमा गल्र्यङले घलेललाई पराजित गर्दै नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भयो। चौथो स्थानमा सीमित घलेलले सान्त्वना पुरस्कारस्वरूप नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरियो। सर्वोत्कृष्ट खेलाडीको उपाधि विवेक ठकुरीले हात पार्दा, उत्कृष्ट स्पाइकर समीर विक घोषित भए। त्यस्तै, उत्कृष्ट सेट्टर अशोक ठकुरी भए भने उत्कृष्ट मिडिल ब्लकरको उपाधि विश्वास ठकुरीले प्राप्त गरे।
भेट्रान्स खेलतर्फको फाइनलमा उत्तम समूहले तक्क्रो समूहलाई पराजित गर्दै प्रथम स्थान हात पार्यो। विजेता टोलीले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भयो भने उपविजेता तक्क्रो समूहले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा घोडा दौडसमेत समावेश गरिएको थियो। सो प्रतियोगितामा हरि प्रसाद भण्डारी प्रथम स्थान हासिल गर्दै नगद रु १५ हजार प्राप्त गरे भने दोस्रो स्थानमा रहेका उमनाथ पौडेलले नगद रु १० हजार हात पारे।
सिधिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गतेदेखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा सम्पन्न भएको हो। प्रतियोगिताको समापन समारोहमा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्ने उल्लेख गर्दै गाउँपालिकाले खेलकुद विकासलाई प्राथमिकता दिएको बताए।
त्यस्तै, गाउँपालिका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष गणेश आचार्यले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष रहेको उल्लेख गर्दै यसले युवाको जीवनमा सकारात्मक भूमिका खेल्ने बताए।
समापन समारोह सिधिङ युनाइटेड युथ क्लबका अध्यक्ष शुक बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मोहन सिंह तामाङले गरेका थिए भने सञ्चालन क्लबका सचिव प्रज्वल क्षेत्रीले गरेका थिए।