त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा–२७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट २०८१ शुक्रबारदेखि सुरु भएको छ। वार्षिक खेलकुद प्रतियोगिता अन्तर्गत आयोजना गरिएको स्पोर्टस् मिटमा १४ विभिन्न खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा कलेजका पूर्व अध्यक्ष बाबुराम गिरीले गरे। उद्घाटन समारोहमा बोल्दै गिरीले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको प्रतिभा पहिचान गर्न खेल आवश्यक रहेको बताए। “अध्ययनले ज्ञान र बौद्धिक क्षमता बढाएजस्तै खेलले विद्यार्थीको शारीरिक फिटनेस, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न मद्दत गर्छ,” उनले भने।

त्रिवेणी इन्टरनेशनल कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले विद्यार्थीहरूलाई रोजगारको जुनसुकै क्षेत्रमा अब्बल बन्न सक्ने गरी तयारी गर्न आग्रह गरे। उनले खेलकुदले आत्मअनुशासन, सहकार्य र लक्ष्यप्रति प्रतिबद्धता बढाउने भन्दै शैक्षिक यात्रामा खेलकुदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलका अनुसार वार्षिक तालिका अनुसार आयोजना गरिएको स्पोर्टस् मिटमा स्नातक तथा स्नातकोत्तर तहका ६ सयभन्दा बढी विद्यार्थी सहभागी छन्। महिलातर्फ र पुरुषतर्फ १०० मिटर दौड, भलिबल, सटपुट, बलथ्रोसहित १४ खेलमा प्रतिस्पर्धा गरिने पौडेलले जानकारी दिए।

स्पोर्टस् मिट फागुन २८ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा संचारकर्मी नवराज सापकोटा, प्राध्यापक जीवन भण्डारी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराईलगायतले स्पोर्टस् मिटको महत्त्वबारे धारणा राखेका थिए।

कलेज प्रशासनका अनुसार प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ। “शिक्षासँगै खेलकुदमा उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित विद्यार्थीहरूलाई हौसला दिने उद्देश्यले स्पोर्टस् मिट आयोजना गरिएको हो,” कलेज प्रशासनले जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्