
पोखरा । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता आज (आइतबार)देखि सुरू हुँदैछ। प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन र कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा सात टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
तीन वर्षपछि राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता पोखरामा हुन लागेको हो। प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा दुई विभागीय टोली— नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
गण्डकी प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्यका अनुसार प्रतियोगिता बिहान ९ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरू हुनेछ। लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा पहिलो दिन चार खेल हुनेछन्। उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र कोशी प्रदेशबीच साढे २ बजे हुनेछ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले गर्ने तय भएको छ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ५० हजार तथा तेस्रो हुने टिमले ३० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब १४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। राष्ट्रिय ह्याण्डबलको स्तर वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता खेलाडीहरूको प्रदर्शनका साथै खेल प्रवर्द्धनमा महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ।