
पोखरा । बागमती प्रदेश अल्पाइन स्पोट्र्स फेडरेसनको साधारण सभा तथा निर्वाचन हालै सम्पन्न भएको छ। उक्त सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ, जसले अल्पाइन, एड्भेन्चर र टुरिजम खेलकुद क्षेत्रको प्रवद्र्धन तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सभाबाट राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। निर्वाचन प्रक्रियाबाट विजय थापा उपाध्यक्ष, विकास लामा सचिव, गोविन्द गुरुङ कोषाध्यक्ष र थुप्तेन लामा सदस्यमा चयेन भएका छन्। महासंघको नियमअनुसार ९ सदस्यीय कार्यसमितिमा अध्यक्षले एक उपाध्यक्ष र एक सदस्य मनोनयन गर्ने प्रावधान छ भने बाँकी दुई सदस्य बागमती प्रदेश खेलकुद विकास परिषद्ले तोक्नेछ। सोहीअनुसार अध्यक्ष श्रेष्ठले अमृत श्रेष्ठलाई उपाध्यक्ष र मनिषा बुढालाई सदस्यमा मनोनयन गरेका छन्। हालसम्म ७ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ।
सभामा बागमती प्रदेश खेलकुद विकास परिषद्की सदस्य दीप्ति क्षेत्री, अल्पाइन स्पोट्र्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे र महासंघका उपाध्यक्ष रोमनाथ ज्ञवालीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले नयाँ कार्यसमिति र महासंघलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी योजनाहरूबारे जानकारी गराएका थिए। सभाले महासंघको विधान पारित गरेको छ भने निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको उनले बताए।
नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा प्रभावकारी गतिविधिहरू मार्फत बागमती प्रदेशमा अल्पाइन र एड्भेन्चर खेलकुदको विकासमा जोड दिने प्रतिबद्धता जनाएको छ। महासंघले टुरिजम र खेलकुद क्षेत्रको समन्वयमा नवीन कार्यक्रमहरू सञ्चालन गरी प्रदेशको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
यो नयाँ नेतृत्वको आगमनले बागमती प्रदेशको खेलकुद क्षेत्रमा थप ऊर्जा र उत्साह थपिने विश्वास गरिएको छ।