
पोखरा । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, धितालमा सम्पन्न भएको छ। ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजित सभाले गाउँकेन्द्रित पर्यटन विकासमा जोड दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले सभाको उद्घाटन गर्दै पर्यटन व्यवसायीहरूको योगदानले माछापुच्छ्रे पर्यटकको पहिलो रोजाइ बनेको बताए। उनले गाउँपालिकाले पर्यटनमैत्री वातावरण निर्माणमा प्राथमिकता दिएको उल्लेख गरे।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै बोर्डले व्यवसायीहरूसँग सहकार्य गरिरहेको जनाए। यस्तै, माछापुच्छ्रे–६ का वडाध्यक्ष टेकनाथ गौतमले गाउँमा यस्ता कार्यक्रम आयोजना हुँदा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले संस्थाले ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने मन्त्रलाई आधार बनाएर काम गरिरहेको बताए। कार्यक्रममा भिटोफका सल्लाहकार टिकाराम सापकोटा, पूर्वअध्यक्ष नवराज अधिकारी, होटल संघ गण्डकीका उपाध्यक्ष गणेशराज पहारी, कालाबाङ सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेकी अध्यक्ष बबिता गुरुङलगायत पर्यटन व्यवसायीहरूको सहभागिता थियो।
सभाले प्रथम उपाध्यक्ष रमेश अर्यालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरण गुरुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। मञ्चकी अध्यक्ष शोभा कुमारी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा दितिय उपाध्यक्ष शुशिला भण्डारीले स्वागत र सचिव लक्ष्मण पहारीले सञ्चालन गरेका थिए।