पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा  

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखराः  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।

पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको सातौ खेलमा घान्द्रुक क्रोम्छेले आधिखोला न्यु दिल्लीलाई ३–१ को सेटमा पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

घान्द्रुकले आधिखोलालाई २६–२४, १२–२५, २५–२३ र २५–२३ ले पराजित ग¥यो । लिगको शिर्ष स्थानमा उक्लिएको घान्द्रुकको ४ खेलमा ९ अङ्क छ । यस्तै आधिखोला ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै आज भएको लिगको आठौै खेलमा एपिएफले ठकुरी समाजलाई ३– १ को सेटमा नै पराजित गरेको छ । एपिएफले ठकुरी समाजलाई २५–२०, २०–२५, २५–२० र २८–२६ले पराजित ग¥यो । एपिएफ ६ अङ्कसहित तेस्रो स्थानमा छ । आधिखोला र एपिएफको समान ६÷६ अङ्क भएपनि सेटको आधारमा आधिखोला दोस्रो स्थानमा छ ।

यस्तै  ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जा चौथो र ठकुरी समाज पाँचौ स्थानमा रहेको छ ।

लिगको शिर्ष स्थान र चौथो स्थानमा रहने टिमले पहिलो सेमिफाइनल र लिगको दोस्रो र तेस्रो स्थानमा रहने टिमले दोस्रो सेमिफाइनलमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

भेट्रान्सतर्फ क्वाटरफाइनलको एक खेल बाँकी
लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको तेस्रो क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको भेट्रान्सतर्फ शुक्लागण्डकी, पोखरा भेट्रान्स र अर्चलबोट भेट्रान्स सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

यस्तै अन्तिम क्वाटरफाइनल खेल होटल ल्याण्ड सिक्लेस भेट्रान्स र किङ्स युनाटेडको खेल शुक्रबार हुनेछ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले शुक्रबार लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।

फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्