टाइगर कपमा थाइल्यान्ड क्विन्समाथि एपीएफको रोमाञ्चक जित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा  ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्विन्समाथि सशस्त्र प्रहरी बल (एपीएफ) ले रोमाञ्चक जित निकालेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो ।

थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै एपीएफले १५–१३ को रोमाञ्चक जित निकाल्यो । पाँचौं सेटमा खेलमा फर्किने प्रयास गरेपनि थाइल्यान्ड सफल हुन सकेन ।

यसअघि आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित भएको थियो । अब पुरुषतर्फका दुई खेल हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ ।

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्