फिल्म ‘खुश्मा’काे युनिट प्रचारप्रसारमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । असाेज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘खुश्मा’काे युनिट यतिवेला प्रचारप्रसारमा व्यस्त छन् । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो दिएका छन् ।

अशोक थापा मगरद्वारा लेखन/ निर्देशन बनेकाे फिल्म खुश्मा माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म हाे । उक्त फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘खुश्मा’मा उपसना सिंह ठकुरी र धिरज मगरको मुख्य भूमिका रहेको छ । फिल्ममा द्वन्द्वकालको बेलाको साधारण प्रेमकथालाई उत्कृष्ट ढंगले देखाइएको निर्देशक  थापा मगरकाे  भनाई छ। ‘द्वन्द्वकालको प्रेमकथा पस्कदैछौं। राम्रो फिल्म बनेको छ। सबैको चिजको मिश्रण गरेका छौं’, उनले भने।

डकुमेन्ट्री निर्माण गरिरहेका निर्देशक थापाको यो पहिलो फिचर फिल्म हो। फिल्म मेकिङमा मेहनत गरेकाले दर्शकले मन पराउनेमा उनी आशावादी छन् ।

पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको हो । रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झन्डै ४५ दिन लगाएर फिल्म खिचिएको हाे । फिल्ममा तीन करोड बढी लगानी भएको निर्माण टिमको दाबी छ ।

फिल्ममा धिरज, उपसनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), विजय सुब्बा, संगीता थापा, राज थापा काउचा, अस्तित्व भट्टचन,  मगर, सुजाता राई लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा चन्द्रबहादुर भट्टचन, बेतान मगर र विरबहादुर लामा फिल्मको निर्माता रहेका छन्। मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुन्।

फिल्म दिपक बज्राचार्यले खिचेका छन्। एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ। फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्