अमेरिकामा टिकटकको छुट्टै संस्करण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

अमेरिका । अमेरिकामा चल्ने टिकटकको स्वामित्व अब त्यहाँको स्थानीय कम्पनी र लगानीकर्ताले खरिद गर्ने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसका लागि कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी संस्करणको टिकटक बिक्रीको प्रक्रिया अघि बढाएका हुन्।

चीनको बाइटडान्स स्वामित्वमा रहेको टिकटकलाई अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भन्दै ट्रम्प प्रशासनले लामो समयदेखि दबाब दिँदै आएको थियो। कार्यकारी आदेशपछि अमेरिकी प्रयोगकर्ता, सर्वर र सञ्चालनसम्बन्धी सम्पत्ति अमेरिकी लगानीकर्ताले नै स्वामित्व लिनुपर्ने प्रावधान लागू हुनेछ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार टिकटकको अमेरिकी कारोबार करिब १४ अर्ब डलरमा मूल्याङ्कन गरिएको छ, जुन विश्लेषकहरूको अनुमानभन्दा निकै कम हो। बाइटडान्सले भने टिकटकको मूल्य ३३० अर्ब डलरभन्दा बढी रहेको दाबी गर्दै आएको छ।

हालै ट्रम्पले सो कानुनको कार्यान्वयन २०२५ जनवरी २० सम्म स्थगित गरे पनि यदि त्यसभित्र बाइटडान्सले अमेरिकी सम्पत्ति नबेचेमा टिकटकमाथि प्रतिबन्ध लाग्ने चेतावनी दिइएको छ।

सम्झौता अनुसार अमेरिकी संस्करणको टिकटक एपको सिफारिस प्रणाली (एल्गोरिदम) अमेरिकी कम्पनीको नियन्त्रणमा रहनेछ। एल्गोरिदमलाई पुनः तालिम दिइने र अमेरिकी सुरक्षा निकायको निगरानी रहने समाचारमा उल्लेख छ।

टिकटकको अमेरिकी स्वामित्व खरिदमा डेल टेक्नोलोजीका संस्थापक माइकल डेल, सञ्चार व्यवसायी रूपर्ट मर्डोकसहितका लगानीकर्ता संलग्न हुने जनाइएको छ। ओरेकल र सिल्भर लेक पार्टनर्सलगायतका अमेरिकी लगानीकर्ताले करिब ५० प्रतिशत हिस्सेदारी पाउने, बाइटडान्सका हालका लगानीकर्ताले ३० प्रतिशत स्वामित्व राख्ने र बाँकी हिस्सा बाइटडान्ससँगै रहने प्रावधान हुने देखिन्छ।

नयाँ कम्पनीको बोर्डमा सात सदस्य रहनेछन्, जसमा छ जना अमेरिकी र एक जना बाइटडान्सको प्रतिनिधि हुनेछन्। तर सम्झौताका सबै विवरण अहिलेसम्म सार्वजनिक भइसकेको छैन। अमेरिकी अधिकारीहरूले एल्गोरिदममा अझै बाइटडान्सको प्रभाव रहन सक्ने आशंका व्यक्त गरेका छन् भने रिपब्लिकन सांसदहरूले सम्झौताबारे थप प्रष्टता माग गरेका छन्।

विभिन्न चिनियाँ सञ्चारमाध्यमले बाइटडान्सले अमेरिकी कारोबारलाई पुनःसंरचना गर्दै नयाँ कम्पनीमार्फत ई–कमर्स, ब्रान्डिङ र अन्तर्राष्ट्रिय कारोबारसँगको समन्वय गर्ने जिम्मेवारी पाउने दाबी गरेका छन्।

अमेरिकामा हाल करिब १७० मिलियन टिकटक प्रयोगकर्ता छन्। ट्रम्प आफैंले पनि टिकटकलाई आफ्नो चुनावी अभियानमा प्रभावकारी मान्दै आएका छन्। उनको व्यक्तिगत टिकटक अकाउन्टमा डेढ करोडभन्दा बढी फलोअर छन् भने ह्वाइट हाउसले पनि आधिकारिक अकाउन्ट सुरु गरिसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्