मध्य असारसम्म ३३ फिल्मले लिए निर्माण इजाजत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौ । २०८३ साल सुरु भएसँगै फिल्म निर्माणको इजाजत लिने संख्यामा कमी देखिएको छ । बैशाख र जेठ महिनामा मात्र जम्मा २७ फिल्मले निर्माणको अनुमति पाएका छन् ।

यो तथ्यांक अघिल्लो वर्षको सोही संख्याभन्दा निकै न्यून हो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार बैशाखमा १६ र जेठमा ११ छ ।

बैशाखमा इजाजत लिने कथानक फिल्ममा ‘बिचौलिया’, ‘मलाया क्रमु’, ‘एक मुठ्ठी बादल’, ‘तीन तीघ्रे क्या बिग्रे’, ‘च्योना, हितको माया’, ‘तिमी मेरो म तिम्रो’, ‘होल टाइमर्स २’, ‘फलानो ढिस्कानो’, ‘आशा’, ‘उग्रम’, ‘मेरो प्रेम अधुरो’, ‘ढुकढुकी’, ‘एक एकान दुई’, ‘खण्डहर र देवकली’ छन् ।

जेठमा ‘युग’, ‘परदेश’, ‘पञ्चमी’, ‘गजागु संस्कार’, ‘४ जीपीए,’ ‘स्वामी’, ‘कन्या केटो’, ‘ल्याङ्ग ल्याङ्ग’, ‘तिरी मिरी झ्याईं’, ‘घर हिँडेको मान्छे’ र ‘सुनको बिहानी’ले इजाजत लिएको देखिन्छ ।

असार लागेपछि पूर्ण हिँड्यो अस्ट्रेलिया, विष हरण, झ्यालखाना, अनुराधा, प्रिन्स र भेडिगोठले इजाजत लिएका छन् । प्रिन्सको निर्देशकमा नीर शाहको नाम छ ।

इजाजत लिएपछि फिल्म निर्माण हुने सुनिश्चितता भने हुँदैन । कतिपयले नाम कब्जा गर्न मात्र इजाजत लिएको प्रवृत्ति रहँदै आएको छ । ती दुई महिनाको तथ्यांक हुँदा इजाजत लिएका मध्ये केही प्रदर्शनमा आइसकेका छन्, केहीको छायांकन हुँदैछ भने केही छायांकनमा जाने तयारीमा छन् ।

‘एक मुठ्ठी बादल’ रिलिज भैसकेको छ । ‘होल टाइमर्स’ छायांकन समाप्त हुने चरणमा छ । ‘तीन तिघ्रे क्या बिग्रे’ छायांकनमा जाने भनिएको छ, यद्यपि कहिले जान्छ टुंगो छैन ।

निर्माण इजाजत लिने संख्यामा गिरावट आउनुमा कतिपय फिल्मकर्मी कलाकारको महंगो पारिश्रमिकलाई दोष दिन्छन् । पारिश्रमिक महंगो हुँदा लागत वृद्धि हुने र मन्दी र अनिश्चितताबीच ठूलो लगानी गर्दा जोखिममा पर्न सक्ने डर निर्मातालाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्